१४ पुस २०८१ आइतबार
image/svg+xml
खेल

ललिनरात र मैराबा ब्याडमिन्टन च्याम्पियन

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज

कांस्य विजेता प्रिन्स दाहाल र रसिला महर्जन। तस्बिर: नागरिक

थाइल्यान्डकी ललिनरात चाइवान र भारतका मैराबा लुवाङ मैसनामले नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जको एकलमा च्याम्पियन भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार ललिनरात महिला एकल्स र मैराबा लुवाङ पुरुष एकलमा च्याम्पियन भएका हुन्। थाइल्यान्डकी ललिनरातले फाइनलमा भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले हराउँदै उपाधि उचालिन्।

पुरुषको फाइनलमा मैराबाले आफ्नै देशका बिएम राहुल भारद्वाजलाई २१–१७, २१–१६ ले हराए। यस च्यालेन्जमा नेपालले एक मात्र कांस्य पदक मिक्स डबल्समा जितेको थियो। प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले सेमिफाइनलसम्मको यात्रा तय गरेपछि कांस्य पदक प्राप्त गरेको हो।

घरेलु कोर्टमा भएको अन्तर्राष्ट्रिय च्यालेन्जमा नेपालबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रस्तुत गरेका थिए। त्यसमध्ये मिक्स डबल्समा कांस्यबाहक नेपाल पदकविहीन बनेको हो। यस विधामा मलेसियाका जोडी लाउ यी सेङ र याप रुई चेङले उपाधि जिते।

यो जोडीले फाइनलमा थाइल्यान्डका नान्ताकोर्न थङ अन र कोड्चापोर्न चाइचानाको जोडीलाई २१–१८, २१–११ ले हराए। मलेसियाले मिक्ससँगै पुरुष डबल्स र महिला डबल्समा पनि उपाधि उचाल्यो। पुरुष डबल्समा मलेसियाका लाउ यी शेङ र ली यी बोको जोडीले भारतका च्यानित जोशी र मायान्क रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले हरायो।

महिला डबल्समा किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाइल्यान्डका कोड्चापोर्न चाइचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ ले हराउँदै उपाधि उचालेको हो। पाँचै विधाका शीर्ष तीन खेलाडीले १२ सय डलर, ७२० डलर र तीन सय डलर प्राप्त गरे। विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा योनेक्स सनराइज नेपाल च्यालेन्जमा विश्वका पाँच महादेशका नेपालसहित २२ देशका कुल १७४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

शुक्रबारदेखि जुनियर प्रतिस्पर्धा

नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल जुनियर अन्तराष्ट्रिय सिरिज २०२४ शुक्रबारबाट हुने भएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तीनदिने सिरिजमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, संयुक्त अरब इमिरेट्स (युएई) का खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट समान आठ महिला र पुरुष खेलाडीको सहभागिता रहनेछ। सिरिजमा पुरुष/महिलाको सिंगल्स, डबल्स तथा मिक्स गरी पाँच विधामा ९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष सिगल्समा ३२, महिला सिंगल्समा २१, मिक्समा १७ जोडी, पुरुष डबल्समा १८ जोडी र महिला डबल्समा १२ जोडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १२ पुस २०८१ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App