१५ पुस २०८१ सोमबार
image/svg+xml
समाज

मनाङमा अत्यधिक चिसो, फोहरमैला व्यवस्थापन गर्न कठिन

हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ। चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ।

सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ। अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिए। उनका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो।

'अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ,' उनले भने, 'साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ।'

अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैंकले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दैआएका प्रमुख जिल्ला अधिकारी  मात्रिका आचार्यले बताए। उनका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैंक सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ।

चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामेलगायतका स्थानीय बाहिर जाने क्रममा रहेका प्रजिअ आचार्यले बताए। यसरी स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उनले बताए।

स्थानीय बेँसी झरे पनि सुरक्षा निकाय, स्वास्थ्य तथा विषयगत कार्यालयका कर्मचारीले सेवा प्रवाह गर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। उनले भने, 'स्थानीयको यहाँ बसोबास नभएको बेलामा सुरक्षा दिने हाम्रो जिम्मेवारी हो। त्यसैले यस अवधिमा अपनाउनुपर्ने सुरक्षाका लागि नै खटिएका छौँ।'

अध्यधिक चिसोका कारण खोला, नदी तथा धारामा पानी जमेको छ। चिसोले पिउने पानीकै समस्या छ। प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार अधिकांश स्थानीय बेँसी झरिसकेका पनि यहाँ रहेका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरिएको छ।

जिल्ला अस्पतालका प्रमुख डा दिवाकर कोइरालाका अनुसार जाडोयाममा स्थानीयलाई सेवा प्रवाहमा सहज बनाउने प्रयासमा जुटिरहेको बताए। स्थानीयवासी मङ्सिरदेखि फागुनसम्म अन्यत्र बसाइँ सर्ने गरेका छन्। यस अवधिमा चिसोका कारण यहाँ विकास निर्माणको काम ठप्प रहन्छ।

प्रकाशित: १४ पुस २०८१ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App