१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

देश बनाउने पार्टी एमाले मात्रै हो, सबै एमालेमा आउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन गर्न एमाले मात्रै सक्षम भएको बताएका छन्।

पर्साको सखुवा प्रसौनीमा आइतबार आयोजित बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई एमालेमा आबद्ध हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, “देश बनाउने पार्टी एमाले मात्रै हो र अरु दलका नेताहरुले केवल संविधानका धाराको राजनीति गरेर जनतालाई अलमल्याएका छन्। हामी उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिंदै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रान्तिकारी काम गर्दैछौं। अब तर्क गर्ने समय छैन, व्यवहारले सबै कुरा पुष्टि भइसकेको छ। त्यसैले सबैले एमालेमा आउनुस्।”

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको विकासका लागि आफू सरकारमा हुँदा थालनी भएका योजना पुनः तीव्र रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, र जनताको आय बढाउने काममा एमाले नेतृत्वको सरकारले विशेष प्राथमिकता दिएको बताए।

प्रधानमन्त्रीले पर्साको पोखरियास्थित नगर अस्पतालको स्तरोन्नति, नापी तथा मालपोत कार्यालय सेवा केन्द्र स्थापना, र चाँडै इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीय जनताको आवश्यकताअनुसार विकासका काम अघि बढिरहेको जानकारी दिए।

महिलाहरूलाई सामाजिक र राजनीतिक रूपमा अगाडि बढाउन विशेष जोड दिँदै उनले भने, “महिला र युवाको सक्रियता विना बलियो पार्टी बन्न सक्दैन। त्यसैले स्थानीय नेतृत्वले जनताको घरदैलोमा पुगेर उनीहरुलाई पार्टीमा जोड्न काम गर्नुहोस्,”

कार्यक्रममा अन्य दलका झण्डै पाँच हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश गरे। जनता समाजवादी पार्टीका प्रदीप जयसवाल, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य उर्मिला महतो, र माओवादी केन्द्र तथा नेपाली कांग्रेसका नेताहरु एमालेमा प्रवेश गरे।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशका आठवटै जिल्लामा एमालेको प्रभाव बढ्ने विश्वास व्यक्त गर्दै भने, “देश बनाउने क्रान्ति एमालेकै नेतृत्वमा सम्भव छ।,”

प्रकाशित: १४ पुस २०८१ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App