नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्तालाई भुक्तानी दिन सुरु भएको छ । समस्याग्रस्त भएपछि बैंकको व्यवस्थापन जिम्मा लिएको नेपाल राष्ट्र बैंकले बुधबारदेखि यहाँका बचतकर्तालाई पैसा भुक्तानी गर्न थालेको हो ।
पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले जानकारी दिए । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ । ‘राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएर आवश्यक छलफल र अध्ययनपछि कारोबार सुरु भएको छ,’ उनले भने, ‘पहिलो दिन भुक्तानी लिन आएका बचतकर्ताहरुको पैसा भुक्तानी गरेका छौं ।’
अहिलेलाई अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई २५ हजारका दरले पैसा भुक्तानी गरिएको भन्दै उनले भने, ‘त्यस्ता केही बचतकर्तालाई केही बढी पैसा पनि भुक्तानी भएको छ । क्रमिकरुपमा सबै बचतकर्ताको रकम भुक्तानी हुने भन्दै उनले बचतकर्तालाई धैर्य रहन आह्वाण गरेका छन् । तरलता बढेपछि भुक्तानी रकम बढाउने उनको भनाइ छ ।
बचत रकम भुक्तानीसँगै व्यवस्थापनको जिम्मा पाएको समूहले कर्जा असुलीको कामलाई पनि अगाडि बढाएको छ । कर्जा असुलीमा केही छुट दिएर पनि कर्जा पैसा असुली गर्न थालिएको उनी बताउँछन् ।
बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा उक्त समूहले अध्ययन गरेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहका संयोजक खतिवडाले बताए । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसेको छ ।
प्रकाशित: १७ पुस २०८१ १८:०५ बुधबार