म्याग्दीको पश्चिम क्षेत्रको लाइफलाइन मानिनेबेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्डका पछिल्लो एक महिना यता सडकको कामले गति पाएको छ । म्याग्दी जिल्लामा रुग्ण योजनामा सडकको म्याद गत मंसिर महिनामा सकिए पनि ठेकेदारले कामलाई अगाडी बढाएपछि अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति देखिएको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो । २०७८ जेठ महिनामा सकिनुपर्ने सडकका ठेकेदार विभिन्न बहाना देखाउँदै काम छोडेर अलपत्र पारेपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए।
पछिल्लो एक महिनायता निर्माण व्यवसायीले सडक फराकिलो पार्ने, नाली र पर्खाल बनाउने कामलाई पूर्णता दिएर सवबेस, बेस राख्ने, रोलर, ग्रेडरले सम्माउने कामलाई तीव्र बनाएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर बिष्णु पौडेलले बताए । ‘अब म्याद थपबारे कुनै निर्णय भएको छैन, अहिले ठेकेदारले कामलाई गति दिएका छन्, यो अवस्था नरोकिए असारसम्म काम सकिन्छ’ प्रमुख पौडेलले भने । उनका अनुसार ठेकेदारलाई जनशक्ति र उपकरण अझै थपेर कामलाई तीव्रता दिनका लागि समेत अनुरोध गरिएको छ ।
मंगला गाउँपालिका–२ रणवाङ देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न वि.स. २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । गत वर्ष पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि एक करोड ५० लाख विनियोजन भएको छ।
सडक खण्डमा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त भएकाले रणवाङ देखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रेको तयारी गरिएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ ।
पश्चिम मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको यो सडक वि.स २०६३ मा मार्ग खुलेको थियो । यो सडक बागलुङको तमानखोला, रुकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने गर्दछन् । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रेको काम सक्न नियमित पूर्वाधार कार्यालयले अनुगमन गरिरहेको छ । बेनी अस्पताल र रणवाङ–दरवाङ रुग्ण योजनामा पर्छन् ।
प्रकाशित: १७ पुस २०८१ १८:१८ बुधबार