गायक एवं संगीतकार दीप श्रेष्ठले गोल्डेन भ्वाइसको उपनाम पाएका गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई सम्झँदै छैमले रिसोर्टमा लाइभ गायन गर्ने भएका छन्।
काठमाडौंको दक्षिणकाली मन्दिरनजिकैको छैमले रिसोर्ट प्रेमध्वज प्रधानको अति प्यारो ठाउँ थियो। प्रधान प्राकृतिक सुन्दरताले भरिएको रिसोर्टभित्रको हरियालीमा समय बिताउन बेलाबेला पुगिरहन्थे।
पछिल्लो पटक रिसोर्टमा पुगेका बेला गायक दीपलाई सम्झँदै प्रेमध्वजले रिसोर्टका सञ्चालक विजय श्रेष्ठलाई आफूझैं अनुज दीप श्रेष्ठसँग यहाँको मनोरम वातावरणमा समय बिताउन चाहेको बताएका थिए र सो कुरा स्वयं गायक दीप श्रेष्ठलाई पनि बताएका थिए। तर यसको केही समयपछि नै प्रेमध्वजको असामयिक निधन भएकाले उनको सो चाहना पूरा भएको थिएन।
प्रेमध्वजलाई आफ्नो आदर्श मान्ने छैमले रिसोर्टका सञ्चालक विजय दीप श्रेष्ठका पनि ठूला प्रशंसक हुन्। उनी भन्छन्, ‘नेपाली सुगम संगीतमा दुवै साधक गायकका रूपमा मात्र नभई संगीतकारका रूपमा अत्यन्त मन पराइएका स्रष्टा हुन्। साधक दीप श्रेष्ठले आफ्ना अग्रज प्रेमध्वजको सम्मानमा उनका सिर्जन नासमेत प्रस्तुत गरी सांगीतिक सम्झना गर्न लागेकाले सो कार्यक्रमको आयोजक बन्न पाउँदा हामी हर्षित छौं।’
छैमले रिसोर्टमा आगामी १० जनवरी २०२५ शुक्रबार साँझ सो कार्यक्रम हुन लागेको आयोजकले बताएको छ। यो सांगीतिक कार्यक्रम व्यावसायिकभन्दा पनि स्रस्टाको सम्मानमा हुन लागेको आयोजक रिसोर्टका सञ्चालक विजय बताउँछन्।
प्रकाशित: १४ पुस २०८१ ०७:०३ आइतबार