नेपाल पुलिस क्लब ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको च्याम्पियन बनेको छ ।
लिगको आफ्नो २१ औं खेलमा मंगलबार चर्च ब्वाईज युनाईटेडलाई २-१ गोल अन्तरमा पराजित गर्दै पुलिस एक खेल अगावै च्याम्पियन बनेको हो । उसको २१ खेलबाट ४८ अंक भयो । दोस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)को २० खेलबाट ४१ अंक छ । एनआरटीको दुई खेल बाँकी रहँदा पुलिस लिगमा ७ अंकको अग्रता बनाउँदै च्याम्पियन बनेको हो ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिसले खेल सुरु भएको पहिलो मिनेटमा नै विक्रम गौतमले गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा सुवास बमले गोल गरेपछि पुलिस क्लब पहिलो हाफमै २-० को अग्रता बनाउन सफल भयो ।
दोस्रो हाफको अतिरिक्त समयमा सोयम निमा पाख्रिन लामाले गोल गर्दै चर्च ब्वाईजको आशा जगाएका थिए । तर सो पछि चर्च ब्वाईजले गोल फर्काउन सकेन र हार भोग्न बाध्य भयो ।
पुलिसले लिगको आफ्नो अन्तिम खेल एनआरटीसँग खेल्ने छ।
यसअघि मंगलबार नै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई समान २-० ले हराएको थियो ।
मंगलबार नै हुने तेस्रो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टीम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित: ९ पुस २०८१ १४:३९ मंगलबार





