आशा गरिएका प्रिन्स दाहालको हारसँगै घरेलु कोर्टमा सुरु नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा नेपालले खराब प्रदर्शन गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारदेखि सुरु भएको च्यालेन्जमा प्रिन्स नेपालको सबैभन्दा आशा गरिएका खेलाडी हुन्। तर, जुनियरमा विश्व नम्बर एक पनि भैसकेका प्रिन्सको पुरुष एकलतर्फ चुनौती पहिलो खेलमा नै समाप्त भएको छ। यससँगै एकलतर्फ कुनै पनि नेपाली खेलाडी दुईभन्दा बढी खेल जित्न असफल भएका छन्। नेपाल ब्याडमिन्टन संघको आयोजनामा दोस्रोपल्ट नेपालमा भएको अन्तर्राष्ट्रिय च्यालेन्जनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रस्तुत गर्दैछन्।
तीमध्ये प्रिन्ससँगै रशिला महर्जनले क्रमशः पुरुष र महिला एकलमा मात्र छनोट खेल खेल्नु परेको छैन। अन्यले भने छनोट चरण (क्वालिफिकेसन) का खेल खेलेका छन्। तर, प्रिन्स र रशिला दुवैले पहिलो खेलमा नै हार सामना गरे। प्रिन्सले अन्तिम ३२ को खेलमा भारतका केभिन थाङ्गमसँग २०–२२,२१–१२, २१–१३ ले हार बेहोरेका हुन्। प्रतिस्पर्धात्मक रूपमा पहिलो सेट आफ्नो बनाएका प्रिन्सले त्यसपछि भने खराब प्रदर्शन गरे। महिला एकलमा रशिला पनि राउन्ड अफ ३२ को खेलमा नै पराजित भइन्। उनी भारतकी अदिति भाटसँग २१–१२ र २१–१४ ले पराजित भएकी हुन्।
यससँगै पहिलो दिनको खेलमा नेपाली खेलाडीको प्रदर्शन सुखद हुन सकेन। एकलमा क्षितिज खनालबाहेक अधिकांश नेपाली खेलाडीको चुनौती पहिलो खेलमा नै समाप्त भयो। छनोट खेलेका नेपालका क्षितिज खनालले मात्र दुई खेल जिते। तर, उनी पनि क्वालिफेकसन राउन्ड पार गर्न असफल भए। क्षितिजले क्वालिफिकेसनको पहिलो खेलमा भारतका चरन केलाभाथुलाई २१–१४, १७–२१ र २१–१७ ले हराउँदै सुखद सुरुआत गरे। तर, उनी दोस्रो खेलमा भारतकै सिद्धान्त सेलासँग पराजित भए। क्षितिजले सिद्धान्तसँग २१–१४ र २१–१५ को सेटमा हार बेहोरेका हुन्।
सिद्धान्तले त्यसअघि नेपालकै देवराज रानालाई हराउँदै दोस्रो चरणको खेल तय गरेका थिए। देवराजले भने सिद्धान्तसँग समान २१–११ को नतिजा सामना गरे। पुरुष सिंगल्सको क्वालिफिकेसनमा नै भोजबहादुर गुरुङ, जीवन आचार्य र प्रफूल महर्जनले पनि पहिलो खेलमा नै हार बेहोरे। भोजबहादुरले भारतका मोहिथ पलाक्षसँग २१–९, २१–१०, जीवनले भारतकै प्रणव रामसँग २१–१२, २१–१५ तथा प्रफूलले खान्दोकर अब्दुससँग २१–१५, २१–१८ ले हार सामना गरेका हुन्। यसै विधामा नेपालका अमन महर्जन र सुनील जोशीको यात्रा पनि छनोटमै सीमित भयो।
अमन भारतका अतुल माथ्वेसँग २१–१५, २१–९ तथा सुनिल श्रीलंकाका शेनुक सामरारत्नेसँग २१–१८, २१–८ ले पराजित हुन पुगे। विश्वका पाँच महादेशका नेपालसहित २२ राष्ट्रले यस नेपाल च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन्। उक्त प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर दुई देशबीच सद्भाव कायम गर्ने बलियो माध्यम रहेको बताए। दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर देशको भेषभुषा र कला संस्कृतिको प्रवर्द्धनसँगै एकआपसमा दुई देशबीच सद्भाव कायम गर्ने बलियो माध्यम रहेको उल्लेख गरेका हुन्।
खेलले विभिन्न देशबीच मित्रतासमेत कायम गरेकाले यसको आयोजना गर्नु विशेष महत्व रहेको दाहालले उल्लेख गरे। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले विश्वलाई नै राजनीतिले भन्दा पनि खेलकुदले एक ठाउँमा जोड्ने काम गरेको धारणा पनि राखेका थिए। राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपालमै अन्तर्राष्ट्रिय खेलकुद आयोजनाका लागि राखेपले प्रोत्साहन गर्दै आएको बताए। विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल च्यालेन्ज २०२४ भएको हो। नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बङ्लादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन्। च्यालेन्जमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ।
कुल १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन्। च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ। जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसमा नेपालबाट जुनियरमा ८ पुरुष र ८ महिला खेलाडीको प्रतिस्पर्धा हुँदै छ। सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन्।
प्रकाशित: ९ पुस २०८१ ०७:१९ मंगलबार