८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रविको बयान- सहकारीको पैसा मेरो पेटमा एक रुपैयाँ बराबरको पनि परेको छैन

'सहकारीबाट पैसा ल्याएको जानकारी मलाई दिइएन'

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

आइतबार (आज) जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा दर्ता गराएको मुद्दाको अभियोगपत्रमा उल्लेखित बयानमा उनले यस्तो जिकिर गरेका छन् ।

उनले त्यसको पुष्टि संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले पनि गर्ने बताएका छन् । 'सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेस गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको अवस्था छ । म यी कसूरमा कहीँ कतै कुनै पनि तवरबाट संलग्न छैन र थिइनँ,' उनले भनेका छन् ।

उनले सहकारीको पैसा आफ्नो पेटमा एक रुपैयाँ बराबरको पनि नपरेको बताए । 'संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदासम्म भए/गरेको छैन । सहकारीको रकम अपचलन गर्नुमा मेरो कुनै पनि किसिमको मिलेमतो संलग्नता रहेको छैन । उल्लिखित ऐन, कसूर गर्नेहरूको लागि आकर्षित हुन्छ । सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ बराबर पनि परेको छैन,' उनले भनेका छन् ।

यस्तै उनले जीबी राईले सहकारीबाट पैसा ल्याएको जानकारी आफूलाई नदिएको समेत बताएका छन् ।

‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन,' लामिछानेले भनेका छन्, 'उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।'

यो पनि पढ्नुहोस्

रवि र निकितासहित ४४ जनाविरुद्ध दायर अभियोगपत्र (पूर्णपाठ)

 

प्रकाशित: ७ पुस २०८१ १९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App