८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सोमबारको लेखा समिति बैठकमा के के भयो ?

सोमबार (आज) सिंहदरबारमा प्रतिनिधि सभाको लेखा समितिको बैठक बस्यो । सभापति ऋषिकेश पोखरेलको सभापतित्वमा बसेको बैठक सदाभन्दा अलिक फरक देखियो ।

कतिपय समिति सदस्यले सभापति पोखरेलकै राजीनामा मागे भने कतिले उनकी श्रीमती अञ्जला कोइरालाबारे प्रश्न उठाए ।

सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ । तर, अहिले उनी फरार छिन् ।

यो प्रसङ्ग कोट्याउँदै एमाले सांसद योगेश भट्टराईले सभापति पोखरेलपत्नी कोइराला अदालतमा उपस्थित हुनुपर्ने धारणा राखे । 'समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ,' उनले भने ।

भट्टराईले लेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकाले आर्थिक रूपमा प्रष्ट हुनुपर्ने बताए । 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रष्ट बनाइदिनुस्,’ उनले भने ।

यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलकै राजीनामा मागे । प्रतिनिधि सभाको लेखा समिति प्रमुख प्रतिपक्षले लिने अभ्यास रहेको उल्लेख गर्दै सांसद मोदीले उनको राजीनामा माग गरेका हुन् ।

'चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ । तपाईं आफैँ सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ,’ उनले भने ।

सांसद मोदीले विगतका गलत अभ्यासलाई देखाएर त्यसलाई निरन्तरता दिन नहुने बताए ।

सभापति पोखरेलको जवाफ- कानुनी प्रक्रियामा छ

प्रश्न उठेपछि सभापति पोखरेलले भने आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताएका छन् ।

'मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु । प्रक्रियाअनुसार अगाडि जाला,' उनले भने । 

प्रकाशित: ८ पुस २०८१ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App