विराटनगर पश्चिम तर्फको नहर डिलको सडक कालोपत्रे हुने भएको छ। विराटनगर–४ राजवंशी चोक देखि वडा नं–१३ स्थित रानी–धरान सडक खण्डसम्मको भाग कालोपत्रे हुने भएको हो।
विराटनगर महानगरपालिकाको आन्तरिक स्रोतबाट करिब ४ करोड रुपैयाँ लागतमा नहर सडक कालोपत्रे गर्ने तयारी गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन्। महानगरको ३ करोड ८२ लाख रुपैयाँ आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर कोइरालाले बताए।
सो सडक निर्माणपछि विराटनगर हाइवेमा देखिंदै आएको ट्राफिक जामको समस्या केहि मात्रामा भएपनि समाधान हुने विराटनगरका मेयर नागेश कोइरालाले बताए।
उनले भने ‘हाइवेको वैकल्पीक सडकका रुपमा यो सडक उपयोग हुने भएकाले बजारक्षेत्रको हाइवेमा देखिएको ट्राफिकको समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।’
कोइरालालका अनुसार ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ। गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ।
ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ। यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ। आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
प्रकाशित: ८ पुस २०८१ २०:१० सोमबार