सुदूरपश्चिम रोयल्ससँग तेस्रोपल्ट भेटमा जनकपुर बोल्ट्सले बदला लिँदै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि शनिबार उचालेको छ। यसअघि दुई भेटमा एकपक्षीय रूपमा हाबी भएको सुदूरपश्चिमलाई फाइनलमा जनकपुरले चुनौती मात्र दिएन उपाधिबाट नै विमुख गरायो। उपाधि भिडन्तमा सुदूरपश्चिम पाँच विकेटको हार सामना गर्न बाध्य भयो।
यी दुई भिड्दा त्रिवि क्रिकेट मैदानमा सदाझैँ फाइनलमा पनि भरिभराउ समर्थक थिए। तर, यसपल्ट भने समर्थकले यस अघिका प्रतिस्पर्धाजस्तो एकपक्षीय देख्नु परेन र खेल रोमाञ्चक बन्यो। पछिल्ला दुई भेटमा सुदूरपश्चिम हाबी हुँदा जनकपुरको ब्याटिङले निकै संघर्ष गर्नुपरेको थियो। तर, फाइनलमा दुवै तर्फबाट रनको वर्षा भयो र कुल ३६९ रन बन्यो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८५ रनको लक्ष्य दियो।
जबाफमा जनकपुरले पनि निडरतापूर्वक ब्याटिङ गर्यो र उक्त लक्ष्य १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। पछिल्ला चार खेलमा ओपनरले राम्रो सुरुआत दिन नसक्दा जनकपुरको ब्याटिङले संघर्ष गर्दै आएको थियो। फाइनलमा भने ओपनरद्वय लाहिरू मिलन्था र आसिफ शेख चम्किँए। आसिफ र मिलन्थाले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै जितको बलियो आधार तय गरे। एकपछि अर्को बाउन्ड्री प्रहार गर्दै यी दुईले सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गरे। यस क्रममा पहिलो विकेटका लागि आसिफ र मिलन्थाबीच ७३ रनको साझेदारी भयो। पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो।
सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे। ‘ब्याटिङमा राम्रै भयो। हाम्रा ओपरनर विनोद भण्डारी र सैब जैबले राम्रो सुरुआत दिलाएका थिए। तर, अन्तिम ओभरमा अझ केही रन बन्नु पर्दथ्यो। त्यसमा भने चुक्यौं। समग्रमा भने राम्रै क्रिकेट खेल्यौं,’प्रशिक्षक टमटाले भने,‘पावर प्लेमा जसरी आसिफ र मिलन्थाले ब्याटिङ गरे, त्यहाँबाट नै हामी पछि पर्यौं। जनकपुरका प्रशिक्षक पुबुदु दसानायकले पनि पावर प्लेमा राम्रो सुरुआत पाउँदा सहज भएको स्वीकार गरे।
च्याम्पियन जनकपुरले ट्रफीसँगै एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो। सुदूरपश्चिमले ६.६ ओभरमा जनकपुरको साझेदारी तोडे पनि सदुपयोग गर्न सकेन। स्पिनर सैबले आसिफलाई ३३ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका हुन्। आसिफले १९ बलमा चार चौका र दुई छक्का हिर्काए। तर, सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आफ्नै बलिङमा ओपनर मिलन्थाको क्याच छोड्नु नै महँगो साबित भयो। मिलन्थाले नै आक्रामक ब्याटिङ गर्दै जितनजिक पुर्याए। मिलन्थाले तेस्रो विकेटका लागि पनि हर्ष ठाकरसँग ६१ रनको साझेदारी गरे।
१५.३ ओभरमा स्कट कुग्गेलिनले मिलन्थालाई ८७ रनमा कट एन्ड बोल्ड गरे। तर, तेस्रो विकेटका रूपमा मिलन्था आउट भए पनि जनकपुर जितनजिक थियो। किनकी जनकपुरलाई २७ बलमा १९ रन आवश्यक हुँदा सात विकेट हातमा थियो। मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्का हिर्काए। सुदूरपश्चिमले थप दुई विकेट लिँदै कसिलो बलिङ पनि गर्यो। तर, पनि जनकपुरले चार बलअगाबै जित सुरक्षित गर्यो। ठाकर ३० र मायन यादव २ रनमा अविजित रहे। ठाकरले २४ बलमा दुई छक्का हिर्काए। सुदूरपश्चिमले अतिरिक्त १८ रन पनि दियो। सैब, ईशान, स्कट र दीपेन्द्रले समान एक विकेट लिए।
पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।
सैफले तीन ओभरमा १४ रन मात्र दिँदा अन्य बलर भने महँगा साबित भए। यसपल्ट पनि सुदूरपश्चिमले राम्रो ब्याटिङलाई निरन्तरता दियो र तर, बलिङमा साथ नपाउँदा उपाधिबाट बन्चित भयो। त्यसअघि टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय राम्रो थियो। यस क्रममा सुदूरपश्चिमले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै १८४ रनको राम्रै योगफल पनि बनायो। सुदूरपश्चिमका ओपनरद्वय विनोद र सैब पनि चम्किँए। यी दुई चम्किँदा सुदूरपश्चिम विशाल योगफलतर्फ पनि अग्रसर थियो। तर, त्यस पछिका ब्याटरले सदुपयोग गर्न सकेनन्। पहिलो विकेटका लागि विनोद र सैबबीच ११७ रनको विशाल साझेदारी भएको थियो।
यी दुई क्रिजमा रहँदा सुदूरपश्चिम दुई सय रनको आँकडातर्फ अग्रसर पनि थियो। त्यसअघि सुदूरपश्चिमले पावर प्लेमा पनि ४८ रन जोड्यो। यसपछि पनि ओपनरद्वयले आक्रामक ब्याटिङ जारी राख्दा सुदूरपश्चिमले १०.१ ओभरमा १०० रन पार गर्यो। १२औं ओभरमा किशोर महतोले साझेदारी तोड्दै ठूलो सफलता दिलाए। यसपछि भने सुदूरपश्चिमको रन गति कम भएको हो। किशोरले सैबलाई ६९ रनमा ललित राजवंशीद्वारा क्याच गराए। सुदूरपश्चिम ११.६ ओभरमा ११७/१ को अवस्थामा थियो। तर, थप रन नजोड्दै अर्का ओपनर विनोद ४१ रनमा बोल्ड भए।
सैबले ४३ बलमा ८ चौका र दुई छक्का हिर्काए। विनोदले ३१ बल खेल्दै एक चौका र तीन छक्का प्रहार गरे। सुदूरपश्चिमले बाँकी ७.४ ओभरमा सात विकेट गुमाउँदा ६७ रन जोड्यो। हरमित सिंह र ब्रेन्डन म्याकमुलन समान १४ तथा स्कट १३ रनमै आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। जनकपुरको बलिङमा किशोर र मोहसिनले समान तीन तथा निसम र ललितको नाममा समान एक विकेट रह्यो। ललित मात्र किफायती बने। उनले चार ओभरमा एक मेडनसहित १५ रन मात्र दिए। ललितसँगै ठाकरले पावर प्लेमा समान एक मेडन राखेका हुन्।
दीपेन्द्रलाई कार, उदीयमान विपिन
एनपिएलको पहिलो संस्करणमा १६ वर्षे स्पिनर विपिन शर्मा उदीयमान खेलाडी हुँदा दीपेन्द्रसिंह ऐरीले कार पाउन सफल भएका छन्। ट्यालेन्ट हन्टबाट कर्णाली याक्समा आबद्ध विपिन उदीयमान खेलाडी भएका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र भए। यसबापत उनले ६२ लाख मूल्यको ओमोडा कार पाए। विपिनले भने ५० हजार नगद पुरस्कारका साथै १० लाख बराबरको छात्रवृत्ति पनि पाए। विपिनले १३ विकेट लिए। दीपेन्द्रले भने प्रतियोगिताभर नौ विकेट र २२७ रन बटुलेका थिए। जनकपुरका जिमी निसम प्लेयर अफ द टुर्नामेन्ट भए।
उनले यसबापत दुई लाख रुपैयाँ पाए। जनकपुरका स्पिनर ललित राजवंशी उत्कृष्ट बलर घोषित भए। यसबापत ललितले एउटा मोटरसाइकल पाए। उनी र सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिन समान १७ विकेटसहित शीर्ष विकेटकर्ता हुन्। जनकपुरका मिलन्थाले म्याक्सिमम फोर (३५ चौका) अफ द टुर्नामेन्टको पुरस्कार पाए। यसबापतले उनले दुई लाख नगद पुरस्कार प्राप्त गरे। लुम्बिनी लायन्सले फेयर प्लेको अवार्ड प्राप्त गर्यो।
‘ललित उत्कृष्ट खेलाडी हुन्’
जनकपुरका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै एनपिएलको उत्कृष्ट खेलाडी रहेको प्रतिक्रिया दिएका छन्। फाइनल खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललित प्रतियोगिताको उत्कृष्ट खेलाडीको हकदार रहेको दाबी गरेका हुन्। ललितले राम्रो बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको पुबुदुको भनाइ छ। कहिलेकाहीँ रनमा मात्र ध्यान हुने भए पनि प्रतियोगितामा ललितको भूमिका मुख्य रहेको उनको बुझाइ थियो।
उनले ब्याटिङ पिचमा पनि ललितले राम्रो बलिङ गरेको उल्लेख गरेका थिए। जनकपुरको प्रशिक्षक भएर मात्र ललितको समर्थन नगरेको उनी बताउँछन्। दीपेन्द्रसिंह ऐरीले पनि राम्रो खेलेको उनले उल्लेख गरे। यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गर्नु नै नेपाली क्रिकेटका लागि सुखद पक्ष रहेको उनी बताउँछन्। स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा नेपाली खेलाडीमा थप आत्मविश्वास बढ्ने उनको विश्वास छ।
प्रकाशित: ७ पुस २०८१ ०८:२९ आइतबार