बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को २९ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार आफ्नो सन्देशमा प्रधानमन्त्री शाहले बिमस्टेकलाई क्षेत्रीय सहयोगको एक गतिशील प्लेटफर्मका रूपमा उल्लेख गरेका छन्। यसले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने उनको भनाइ रहेको छ। आर्थिक विकासका लागि यातायात, व्यापार र डिजिटल नेटवर्कहरूमा कनेक्टिभिटी बढाउनु महत्त्वपूर्ण रहेको उनले बताएका छन्।
बिमस्टेकको शक्ति यसका जनतामा निहित रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन गर्न, युवा र उद्यमीका लागि अवसर सिर्जना गर्न तथा जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरुद्ध लचिलोपन निर्माण गर्न आह्वान गरेका छन्। उनले समृद्ध बिमस्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता दोहोर्याए।
यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री खनालले सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले गरेको स्थिर प्रगतिको प्रशंसा गरेका छन्। क्षेत्रीय सहयोगलाई सुदृढ पार्न बिमस्टेक बडापत्रको महत्त्वबारे उल्लेख गर्दै उनले उपलब्धिहरूलाई संस्थागत गर्न र साझेदारी बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
खनालले ‘जनता–जनता सम्पर्क’ क्षेत्रको प्रमुख देशका रूपमा नेपाल यस क्षेत्रभरि पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध गहिरो बनाउन तयार रहेको स्पष्ट पारेका छन्।
प्रकाशित: २३ जेष्ठ २०८३ १३:१३ शनिबार


-600x400.jpg)


