सोमबार बिहान दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पका कारण केही घर तथा भवनहरू भत्किएका छन् भने कम्तीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार चार जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र जापानसहितका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
स्थानीय समय अनुसार बिहान साढे सात बजेतिर गएको यस भूकम्पको केन्द्रबिन्दु जमिनमुनि १० देखि ३५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। भूकम्पका कारण फिलिपिन्सको सारंगानी प्रान्त र जनरल सान्तोस सहर बढी प्रभावित बनेका छन्। त्यहाँ विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएको छ।
जनरल सान्तोस सिटी प्रहरीका सार्जेन्ट रोबर्ट डागनले भने, ‘धेरै भवन र घरहरू प्रभावित भएका छन्, तर हामी निरन्तर उद्धारमा व्यस्त भएकाले अहिले नै तिनको गणना गर्न सक्दिनँ।’ त्यस्तै अलाबेल सहरका प्रहरी प्रमुख बेन्जी एन्चेटाले यो आफूहरूले अनुभव गरेको सबैभन्दा शक्तिशाली भूकम्प भएको र यसका कारण केही मानिस बेहोस भएको बताए।
स्थानीय एजेन्सीहरूले फिलिपिन्सका केही तटमा तीन मिटरसम्म र छिमेकी देशहरूमा एक मिटरसम्मका छालहरू उठ्न सक्ने अनुमान गरेका छन्। फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका प्रमुख टेरेसिटो बाकोलकोलले तटीय क्षेत्रका बासिन्दालाई तत्काल अग्लो र भित्री सुरक्षित जमिनमा सर्न सल्लाह दिएका छन्।
घटनापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले सबै संयन्त्र परिचालन गरेर सबै सरकारी निकायलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। उनले सर्वसाधारणलाई जीवन रक्षाका लागि सामानको परवाह नगरी सुरक्षित स्थानमा जान आग्रह गरे। फिलिपिन्स, इन्डोनेसिया र जापान प्रशान्त महासागरको अत्यधिक भूकम्पीय जोखिमयुक्त क्षेत्र ‘रिंग अफ फायर’ मा अवस्थित भएकाले यहाँ बारम्बार यस्ता प्राकृतिक प्रकोपहरूसँग सामना गर्नुपर्छ। एजेन्सी
प्रकाशित: २५ जेष्ठ २०८३ ०७:३४ सोमबार





