सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ ।
रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् । पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो ।
सुदूर पश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लगाउने छ । सुदूरपश्चिम विजयी भए समूहको शीर्ष स्थानमा रहँदै जनकपुरसँग क्वालिफायर खेल्नेछ । सुदूरको हारले भने रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष दुईमा रहने टोलीले क्वालयफायर खेल्नेछन् । सोमबार हुने खेलमा कर्णाली विजयी भए काठमाडौं पनि लिग चरणमै रोकिनेछ । सुदूरको जितमा भने रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफमा स्थान पक्का गर्नेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा अलआउट भयो । क्याप्टेन कुशल भुर्तेल शुन्य रनमा आउट भएका पोखराको इनिङ्समा एन्ड्रिज ओउसले ३६ रन बनाए । रेइमन रेइफरले ३३ र किरन ठगुन्नाले ३२ रन बनाएपनि हार भने टार्न सकेनन् । दुवैले छैठौ विकेटका लागि ७० रनको साझेदारी गरेपनि हार भने टार्न सकेनन् ।
अन्तिम १० बलमा ५ विकेट गुमाएपछि पोखरा हार भोग्न बाध्य भयो ।
सुदूरका लागि स्कट कुग्गेलिनले ३.४ ओभरमा ५ विकेट लिए । हरमित सिंहले ३ विकेट लिँदा सेफ जैबको नाममा एक विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि आरिस शेखले नटआउट ४२ र ब्रेण्डोन म्याकमुलेनले २३ रन जोडे । क्याप्टेन दीपेन्द्र सिंह ऐरी २० रनमा आउट भए ।
पोखराका लागि क्याप्टेन कुशल भुर्तेलले २ तथा रेइमन रेफर, सागर ढकाल र मिचेल लिस्कले समान एक विकेट लिए ।
प्रकाशित: ३० मंसिर २०८१ १६:२१ आइतबार