३० मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा ग्यास चुहावट गर्नेको बिगबिगी, नियामक निकाय मौन

सुखिपुर नगरपालिका–३ सलमपुरमा शनिबार राति आगलागी भएपछि ग्यास चुहावट हुने गरेको तथ्य सार्वजनिक भएको छ। ग्यास चुहिएर आगलागी हुँदा सलमपुरमा खाना पकाउने ग्यास डिलर र किराना पसलमा सात लाख ७८ हजार बराबरको क्षति भएको छ।

यस भेगमा कम्पनीबाट सील गरी आएको ग्यास सिलिन्डर डिलर र खुद्रा विक्रेताहरूले सिल तोडेर विक्री गर्दै आएका छन्। कम्पनीको सील तोडेपछि ग्यास चुहिने गरेको र उक्त चुहावटका कारण आगलागी हुने गरेको छ।

यसबाट ठुलै जनधनको क्षति हुने गरेपनि नियामक निकाय भने मौन प्रायः देखिन्छ। नियमनकारी निकायको निष्क्रियताले ग्यासमा कालोबजारी तथा जोखिमपूर्ण गतिविधिले प्रश्रय पाउँदै आएको स्थानीय बताउँछन्।

नेपाल आयल निगमका अनुसार कम्पनीबाट सील भइ आएको ग्यास सिलिन्डर डिलर वा विक्रेताले सील तोडेर विक्री गर्नु गैरकानुनी हो। यस्तै, चुहावटपछिको आगलागीबाट शनिबार राति पसलमा आगलागी हुँदा ठुलो क्षति भएको हो।

स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए। साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धाने देखाउँछ।

आगलागीका कारण ६ थान ग्यास सिलिन्डर समेत विस्फोट भएको थियो। साथै, साहको किराना पसल र सोही घरको अर्को सटरमा रहेको अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्र पासमानले जानकारी दिए।

भरत साहको ग्यास डिलरमा आगलागी हुँदा पाँच लाख ५५ हजार मूल्य बराबरको र अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा दुई लाख २३ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० मंसिर २०८१ २१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App