२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

धुलो टक्टक्याउँदै उठ्न सक्छौँ : ईश्वर पोखरेल

फाइल तस्बिर

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र देखिएको नेतृत्व विवाद र पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। 

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीमा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेतालाई लिएर अन्योल बढिरहेका बेला पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी रक्षाका लागि एकजुट हुन आग्रह गरेका हुन्। एमालेले कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता रामबहादुर थापालाई बनाएपछि पार्टी भित्र विवाद उत्कर्षमा पुगेको छ। 

नेकपा एमाले स्थापनाकालदेखि नै प्रतिकूलतासँग जुध्दै आएको र सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने पार्टी भएको उनले उल्लेख गरे। पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) आफ्नो स्थापना कालदेखि नै, प्रतिकूलताहरूसित जुद्धै  सुसंगत विचार  व्यवस्थित विधि/पद्धति, सामूहिक नेतृत्व प्रणाली,  पार्टीभित्र नियन्त्रण अनि सन्तुलनको व्यवस्थित अभ्यासका आधारमा सुदृढ हुँदै आएको संगठनात्मक  सञ्जाल, आत्मसमीक्षा  तथा आलोचनात्मक चेतबाट निर्देशित हुँदै आएको पार्टी हो।’ 

उनले अगाडि लेखेका छन्, ‘यिनै कुराबाट प्राप्त ऊर्जा र शक्तिको बलमा यसले  जनताको बिचमा आफ्नो हैसियत स्थापित गर्दै आएको हो। यिनै यिनै कुराबाट नेकपा (एमाले)ले आफ्नो ओजस्विता र जीवन शक्तिप्रति गर्व गर्दै आएको पनि हो।’ २०८२ मंसिरमा सम्पन्न ११ औँ महाधिवेशनले पार्टीलाई नयाँ जीवन र गति दिने उद्देश्यका साथ बहस गरेको स्मरण गर्दै उनले अहिलेको चुनौतीपूर्ण घडीमा ती कुरा बिर्सन नहुने बताएका छन्। 

पार्टीभित्र देखिएका पछिल्ला गतिविधिप्रति लक्षित गर्दै उनले सिद्धान्तहीन सत्ता स्वार्थ र अवसरवाद हानिकारक हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाबिला गर्दै लडेको ठाउँबाट धुलो टक्टक्याउंदै उठ्न सक्छौँ।’

पार्टीलाई गतिवान् बनाउन विधि र पद्धति विपरीतका गतिविधि छोड्नुपर्नेमा उनले जोड दिए। पोखरेलले अगाडि भनेका छन्, ‘गतिलाई बुझ्नैपर्छ। गति अनुसार मति बनाऔँ। विकसित परिस्थिति अनुसार आफ्ना चिन्तन र व्यवहारमा सुधार गरौँ। आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ। गति अनुसार मति सपार्ने काममा लागौँ। सिंगो एमाले पंक्तिले यो कुरा बुझौँ।’

उनका अनुसार आत्मसमीक्षा तथा आलोचनात्मक चेतबाट निर्देशित हुँदै आएको हुनाले नै एमालेले जनताका बिचमा आफ्नो हैसियत स्थापित गरेको हो।

प्रकाशित: २० चैत्र २०८२ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App