पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ ।
पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त घोषणा गर्दै काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने जनाएको हो । नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित, सहकार्य र सहयोग अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालले पोर्चुगल सरकारसँग काठमाडौंमा पोर्चुगलको दूतावास स्थापना गर्न आग्रह गर्दै आएको थियो ।
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने भएपछि पोर्चुगलमा रहेका नेपालीलाई सहज हुने भएको छ । यसबाट भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवाका लागि भारतको नयाँदिल्ली धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपालमा पोर्चुगलको कूटनीतिक उपस्थिति हुने भएसँगै दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि तथा प्रविधिलगायत क्षेत्रमा सहकार्य र सहयोग अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच बुधबार टेलिफोन वार्ता भएको थियो। टेलिफोन वार्तामा मन्त्री खनालले सक्कली प्रहरी रिपोर्टमा भएको नक्कली छाप (फेक स्ट्याम्प)का कारण पोर्चुगलको कागजी प्रक्रियामा रहेका दुई हजारभन्दा बढी नेपाली नागरिकले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत समस्याका बारेमा विदेशमन्त्री रान्जेलसमक्ष ध्यानाकर्षण गराउँदै सहजीकरणका लागि आग्रह गरेका थिए ।
सो अवसरमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै कानुनी तथा प्रक्रियागत कठिनाइमा परेका नेपाली नागरिकका मुद्दा मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायसँग सकारात्मक रूपमा पहल गर्ने आश्वासन दिएका थिए।
प्रकाशित: २० चैत्र २०८२ २१:२४ शुक्रबार





