चितवन राइनोजको जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफको होडबाट एकैपल्ट विराटनगर किङ्स र पोखरा एभेन्जर्स बाहिरिएका छन्।
कप्तान कुशल मल्लको अलराउन्ड प्रदर्शनमा चितवनले शनिबार शीर्ष स्थानको जनकपुर बोल्ट्समाथि ३२ रनमा जित निकाल्यो। यो नतिजासँगै एकसाथ दुई टोलीको यात्रा लिगमै सीमित भयो र प्लेअफ होड थप रोमाञ्चक बन्यो। जनकपुर एक खेलअगावै प्लेअफमा पुगिसकेको छ।
सातौं तथा लिगको अन्तिम खेलमा जितले जनकपुरलाई शीर्ष स्थान बलियो बनाउथ्यो। यद्यपि, चितवनले लक्ष्य पूरा हुन दिएन। हारपछि शीर्ष स्थानसँगै जनकपुरको पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि धरमराएको छ। सुदूरपश्चिमसँगै कर्णाली याक्सको पनि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर सम्भावना बढेको छ।
जनकपुरका प्रशिक्षक पुबुदु दसानायकेले चितवनका कप्तान कुशलको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शनसँगै जनकपुरको पहिलो क्वालिफायर खेल्ने लक्ष्य कमजोर भएको बताए। सुदूरपश्चिमको दुई र कर्णाली याक्सको एक खेल बाँकी रहेकाले शीर्ष दुईको होड अझै टुङ्गो नलागेको उनको भनाइ छ। ‘आज कुशलले ब्याटिङ र बलिङमा धेरै राम्रो प्रदर्शन गरे। जिमीले पनि खेललाई राम्रो स्थितिमा ल्याएका थिए। तर, जित सम्भव भएन र अब शीर्ष दुईमा रहने लक्ष्य सहज भएन,’ उनले भने, ‘अझै खेल बाँकी छ। यस्तोमा शीर्ष दुईको सम्भावना यसै भन्न सकिँदैन। नेट रनरेटले जे पनि समीकरण आउन सक्छ।’
चितवले लिगको शीर्ष दुई टोली सुदूरपश्चिमसँगै जनकपुरलाई पनि हराउन सफल भयो। यो नतिजापछि प्लेअफ होड पनि रोमाञ्चक मोडमा पुगेको छ। प्लेअफ होडमा ६ टोलीबाट चारमा खुम्चाएको छ। दोस्रो स्थानको सुदूरपश्चिमले बाँकी दुई खेल नै गुमाउँदा उसको नै प्लेअफ यात्रा कठिन बन्ने समीकरण देखिएको छ। यद्यपि, अहिलेसम्म सुदूरपश्चिमसँगै चितवन, कर्णाली र काठमाडौं चारै टोलीको सम्भावना कायमै छ। सात खेलबाट १० अंक जोड्दै जनकपुर शीर्षमा छ। सुदूरपश्चिमसँगै चितवन र कर्णालीको समान आठ अंक छ। चितवनले लिगको सातै खेल पूरा गरिसकेको छ।
अब चितवनले प्लेअफमा पुग्न आइतबार बिहान हुने विराटनगर किङ्स र काठमाडौं गुर्खाज बीचको नतिजा पर्खनु पर्नेछ। यो खेलमा विराटनगरले जित निकाल्दा काठमाडौं बाहिरिन्छ भने प्लेअफमा पुग्ने बाँकी तीन टोलीको टुङ्गो लाग्नेछ। तर, काठमाडौंको जितले भने सुदूरपश्चिमले सोमबार खेल्ने लिगको अन्तिम खेलको नतिजा पर्खनु पर्नेछ। सुदूरपश्चिमले आइतबारको दोस्रो खेलमा पोखरा खेल्नेछ। लिगकै अन्तिम तथा सुदूरपश्चिमको सातौं खेल सोमबार कर्णाली हुनेछ र यो खेलको नतिजा पनि विशेष बन्न सक्छ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा कुशलको अलराउन्ड प्रदर्शनमा चितवनले जनकपुरमाथि जित निकालेको हो। चितवनले १८१ रनको लक्ष्य दिएको थियो। तर, जनकपुर १८औं ओभरमा १४८ रनमा अलआउट भयो। यो जितसँगै विराटनगर र पोखराको प्लेअफ सम्भावना समाप्त भयो। अब अन्तिम खेलमा जित निकाल्दा पनि विराटनगर र पोखराको प्लेअफ यात्रा असम्भव बन्यो। विशाल लक्ष्य पछ्याए पनि जिमी निसमले यादगार ब्याटिङ गर्दै जनकपुरको जित सम्भावना देखाएका थिए। यस क्रममा उनले १८ बलमा नै अर्धशतक बनाए। तर, उनी आउट भएसँगै जनकपुरको जित टाढिन पुग्यो।
मध्य क्रमका ब्याटर जिमीले २४ बलमा ६५ रनको इनिङ खेले। १५औं ओभरमा जिमी आउट भए र चितवनले खेल आफ्नो नियन्त्रणमा राख्यो। उनलाई सोहेल तनभिरले रिजन ढकालबाट क्याच गराए। उनको इनिङमा पाँच चौका र ६ छक्का रह्यो। जनकपुरको सुरुआत राम्रो हुन सकेन। पावर प्लेमा ३९/३ को अवस्थामा पुग्यो। यस क्रममा शीर्ष तीन ब्याटर अनिल साह ८, लाहिरू मिलन्था १ र हर्ष ठाकर ६ रनमा आउट भए। ओपनर आसिफ शेखले इनिङ समाल्ने प्रयास गरे। तर, उनी पनि २६ बलमा २४ रन बनाएर आउट भए। शुभ कंसकार १५ रनमा बोल्ड भए।
त्यसपछि जिमीले छैटौं विकेटका लागि मोहम्मद मोहसिनसँग ६६ रनको आक्रामक इनिङ खेले। दुई रन लिने चक्करमा मोहसिनको रनआउट र जिमीको विकेटसँगै जनकपुरको हार तय भयो। चितवनको बलिङमा रिजन, कप्तान कुशल र सोहेलले समान दुई विकेट लिए। अमर रौतेलाको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनायो। चितवनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्यो। तर, विपिन रावल ३ रनमा आउट भए। अर्का ओपनर हसन इसाखिल २८ रन जोडे। उनले १९ बलमा चार चौका र एक छक्का हिर्काए।
त्यसपछि सन्तोष कार्की पनि १४ रनमा पेभेलियन फर्किए। तर, चौथो विकेटका लागि कप्तान कुशल र बोपाराबीच ११३ रनको विशाल साझेदारी बन्यो। जिमीको बलमा आउट हुनुअघि कुशलले ४१ बलमा ७२ रन जोडे। उनको इनिङमा तीन चौका र सात छक्का रह्यो। बोपाराले ३२ बलमा ४४ रन जोडे। बोपाराले पाँच चौका र एक छक्का प्रहार गरे। जनकपुरको बलिङमा ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। चार ओभरमा उनले दुई मेडन राख्दै दुई विकेट लिँदा ११ रन मात्र दिए। त्यसबाहेक अन्य बलर महँगा भए। हर्ष ठाकर, मोहसिन र जिमीले समान एक विकेट लिए।
काठमाडौंको जित
त्यसअघि काठमाडौं गुर्खाजले पोखरा एभजन्जर्सलाई हराउँदै एनपिएलको प्लेअफ सम्भावना जीवन्त राखेको हो। त्रिवि क्रिकेट मैदानमा शनिबार स्टेफन इस्किनाजीको अर्धशतक प्रेरित काठमाडौंले पोखरालाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना जीवन्त राखेको हो।
प्लेअफ सम्भावना बलियो बनाउन दुवै टोलीलाई जित आवश्यक थियो। तर, काठमाडौंले जित निकाल्दै ६ खेलबाट ६ अंक बटुल्यो। पोखराको भने ६ खेलबाट चार अंक नै छ। यससँगै पोखराको प्लेअफ सम्भावना कमजोर बनेको थियो र चितवनको जितसँगै झिनो सम्भावना पनि समाप्त भयो। पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो।
प्रकाशित: ३० मंसिर २०८१ ०७:२८ आइतबार





