नेपाल प्रिमियर लिग (एनपिएल) मा यो इतिहास एक खेलअगावै लेखिनुपर्थ्याे। अघिल्ला चार खेलमा हारको सामना नगरेको जनकपुर बोल्ट्स त्यो लेखाउन सक्षम पनि थियो। तर, पाँचौं खेलमा आएर सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको अप्रत्याशित हारले भने जनकपुरको कथा नै मोडियो र अर्को खेल कुर्नुपर्ने अवस्था आइपुग्यो।
अन्ततः बिहीबार जनकपुरले त्यही इतिहास लेखेको छ, जुन ऊ लिगचरणका केही खेलअगाडि नै लेख्न चाहन्थ्यो अर्थात् प्लेअफ यात्रा पुग्ने पहिलो टोली बन्ने। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो छैटौं खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर पहिलो संस्करणको एनपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
६ मध्ये पाँच खेलमा जित हात पारेको जनकपुरले अब शनिबार हुने अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गरे पहिलो क्वालिफायरमा पनि स्थान पक्का गर्नेछ। योसँगै उपाधि दाबेदारी प्रस्तुत गर्न आफ्नो टोली सक्षम रहेको जनकपुरका अलराउन्डर शेर मल्ल बताउँछन्। ‘पछिल्ला खेल खराब भयो। तर, बाँकी खेलमा गरेको प्रदर्शनबाट प्रेरणा लिएर राम्रो खेल्यौं र काठमाडौंविरुद्ध सफलता हात पार्यौं। अब उपाधि पनि जित्छौं भन्नेमा आशा छ,’ उनले सुनाए।
विराटनगर किङ्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले सानदार लय समातेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले हराएको जनकपुरले पाँचौं खेलमा भने सुदूरपश्चिमसँग पहिलो हारको सामना गर्नुपर्यो। त्यस खेलमा गैरजिम्मेवार ब्याटिङ गरेको कप्तान अनिलकुमार साह आफैंले स्वीकार गरे। तर, काठमाडौंविरुद्ध १०३ को ‘लो स्कोरिङ’ खेलमा भने जनकपुरले त्यस्तै ब्याटिङ दोहोर्याए पनि १५.३ ओभरमा पाँच विकेट गुमाउँदै जित हासिल गर्न सफल भयो।
सुरुआती तीन खेलमा जनकपुरको टप अर्डर खुबै जमेको थियो। कप्तान अनिलले कर्णालीविरुद्ध अविजित ६२ र लुम्बिनीविरुद्ध ४५ रनको इनिङ खेले। लाहिरू मिलान्थाले पनि पोखराविरुद्ध ४५ रनको योगदान दिए। तर, पछिल्ला खेलमा भने यी ब्याटर चल्न सकेका छैनन्। त्यसैले काठमाडौंविरुद्ध अनिल आफैं ओपनिङमा नउत्रिएर लाहिरूलाई उतारे। तर, लाहिरू १६ रनमै समेटिए। उनीसँगै आसिफ शेख दुई, अनिल ११ रनमा समेटिए पनि क्यानेडाली ब्याटर हर्ष ठाकरेले अविजित २५ रनको इनिङ्स खेल्दै जनकपुरलाई जित दिलाएका हुन्। उनले जिम्मी निसमसँग ३३ रनको साझेदारी गरे।
मल्ल सुरुआती खेलमा मिडिल र लो अर्डर क्लिक हुन नपाएको बताउँछन्। तर, नकआउट खेल आउनुअघि यसरी सबैले मौका पाउनु राम्रो कुरा रहेको उनको विश्लेषण छ।
‘सुरुमा टप अर्डरले नै खेल धान्यो। तर, अहिले सबैलाई ब्याटिङको अनुभव भइरहेको छ। सबै एरिया कभर गर्ने हाम्रो योजना हो। अहिले जे भइरहेको छ त्यो राम्रो भइरहेको छ,’ उनले भने।
जनकपुरलाई प्लेअफसम्म पुर्याउन बलरद्वय ललितनारायण राजवंशी र किशोर महतोको भूमिका अब्बल छ। सर्वाधिक विकेटकर्ताको शीर्ष दुईमा रहेका यी दुई बलरले २१ (ललितले ११ र किशोरले १०) विकेट लिइसकेका छन्।
काठमाडौंविरुद्धको खेलमा पनि ललितले तीन र किशोरले एक विकेट हात पारे। ललितले जम्मा आठ र किशोरले १४ रन खर्चिँदा काठमाडौं १९.३ ओभरमा १०१ रनमै अलआउट भयो। काठमाडौंका गेहरार्ड इरस्मसले २०, करण केसी १९ र स्टेफन इस्किनाजीले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
प्रकाशित: २८ मंसिर २०८१ ०९:०६ शुक्रबार





