नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल घरेलु मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट लयमा रहे पनि निकै दबाबमा देखिन्छन्।
एनपिएलको पछिल्ला दुई खेलमा रोहितको व्यक्तिगत प्रदर्शन हेर्ने हो भने सुखद नै छ। ब्याटबाट राम्रो रन निस्कँदा रोहितको लागि सुखद नै मान्न सकिन्छ। दुई खेलबाट रोहितले १४१ रन जोडेका छन्। यस क्रमका उनको स्ट्राइक रेट १५८ भन्दा माथिको पनि छ। तर, एनपिएलको दुई खेल सकिँदा रोहित दबाबमा छन्।
कारण हो, उनको कप्तानीमा रहेको लुम्बिनी लायन्सको लगातारको दुई हार। यी दुवै खेलमा रोहितको लुम्बिनीले राम्रो रन पनि बटुलेको छ। दुई खेलमा गरेर लुम्बिनीले ३६१ रनको बटुलेको छ। दुवैपल्ट पहिले ब्याटिङ गर्दै लुम्बिनीले क्रमशः १९२ र १७१ रनको लक्ष्य दिएको छ।
यी दुवै लक्ष्य ट्वान्टी–२० क्रिकेटमा रक्षा गर्न सकिने खालका पनि हुन्। यद्यपि, रोहितको लुम्बिनी दुवैपल्ट असफल भयो। यी हारको एक मात्र कमजोरी हो, खराब बलिङ। जुन समस्याबारे शुक्रबार पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएपछि रोहित आफैंले पनि स्विकारे।
‘बलिङमा जुन योजना थियो, त्यो आजको खेलमा देखिएन। स्पिनरले पनि राम्रो गर्न सकेनन्। खेल जित्न बलिङमा धेरै राम्रो गर्नुपर्छ,’ हारपछि लुम्बिनीका कप्तान रोहितले मजाक गर्दै भने, ‘अब जित्न जसप्रीत बुमराह (भारतका तीव्र गतिका नम्बर एक बलर) नै ल्याउनुपर्छ ।’
त्रिवि क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। तर, त्यो लक्ष्य पोखरा एभेन्जर्सका लागि धेरै कम देखिएको हो।
किनकि पोखराले त्यो लक्ष्य १६.५ ओभरमा बिनाविकेट पूरा गर्यो। यससँगै लुम्बिनीले पोखरासँग १० विकेटको फराकिलो हार सामना गर्नुपर्यो। यस क्रमका पोखराका ओपनरद्वयले सानदार नै ब्याटिङ गरे।
अमेरिकन ब्याटर आन्द्रेस गोसले शतक र दिनेश खरेलले अर्धशतक पूरा गरे। दिनेश अस्ट्रेलियामा क्रिकेट खेल्दै आएका नेपाली मूलका हुन्। पोखराका ओपनरद्वय गोस १०४ र दिनेश खरेल ६१ रनमा अविजित रहे। गोसले ५५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे। ४६ बल खेलेका दिनेशको इनिङमा समान चार चौका र छक्का रह्यो।
गोसले एनपिएलकै पहिलो शतक पूरा गरे भने दिनेशले पनि एनपिएलमा आफ्नो पहिलो अर्धशतक बनाए। यी दुईबीच १७६ रनको विशाल अविजित साझेदारी बन्यो। पहिलो संस्करणको एनपिएलमा शुक्रबारसम्म ११ खेल सकिएको छ।
अहिलेसम्म दिनेश र गोसको साझेदारी नै सर्वाधिक ठूलो हो। यही साझेदारीसँगै पोखराले एनपिएलमा पहिलो जित पनि निकाल्यो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि दुई खेल गुमाएको थियो। तर, तेस्रो खेलमा पोखरा जित निकाल्न सफल भयो। साथै पोखराले दुई फराकिलो हारपछि ब्रिगिएको नेट रनरेटमा पनि सुधार गरेको छ।
यता, लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङका बावजुद लुम्बिनी हार सामना गर्न बाध्य भयो। लुम्बिनीले पहिलो खेल गुमाउनु पनि खराब बलिङ नै कारण हो। पोखराविरुद्ध पनि लुम्बिनीको खराब लयले निरन्तरता पायो। यससँगै राम्रो लक्ष्य प्रस्तुत गरेता पनि लुम्बिनी १७ बलअगावै नतिजा सुम्पिन बाध्य भयो।
पोखराविरुद्ध प्रस्तुत गरेको लक्ष्य रक्षा गर्न पर्याप्त नै रहेको रोहितले उल्लेख गरे। ‘त्यो लक्ष्य रक्षा गर्न पर्याप्त नै थियो। तर, बलिङमा साथ पाउन सकेनौं। भएको बलिङ अप्सन सबै प्रयोग गरें। तर, पनि सफल भएनौं। कि त २५० रन नै बनाउन पर्यो,’ उनले भने, ‘हाम्रो बलिङ युनिट यहाँभन्दा अगाडि बढ्नुपर्छ। नयाँ बलर ल्याउन सकिँदैन भएका बलरबाट नै राम्रो गर्नुपर्छ।’
एनपिएलमा जित निकाल्न बाँकी एक मात्र टोली लुम्बिनी हो। बलिङमा यही प्रदर्शन जारी रहने हो भने ब्याटिङकै भरमै लुम्बिनीको जित कल्पना गर्नु व्यर्थ हो। दुई खेलमा लुम्बिनीको बलिङमा हेर्ने हो भने कप्तान रोहितसँग धेरै विकल्प देखिएको छैन। घरेलु र विदेशी बलरले राम्रो गर्न सकिरहेका छैन।
लुम्बिनीको टोलीले अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई भिœयाएको छ। उनी राम्रा बलर पनि हुन्। तर, रोहितका अनुसार केही टेक्निकल कारणले आफूलाई बलिङ गर्न नलगाउन कटिङले भनेका छन्। कटिङले शुक्रबार पोखराविरुद्ध पनि खेलेका थिएनन्।
रोहितसँग रहेका अन्य विकल्प रेमन सिमोन्ड्स, क्यानडाका साद बिन जफर, विवेक यादवसँगै स्पिनर सूर्य तामाङको बलिङ पनि प्रभावकारी बन्न सकेको छैन। यस्तो रोहितमाथि निकै दबाब थपिएको छ। तर, कप्तान रोहित भने हार र खराब बलिङ भए पनि कुनै पनि दबाब नरहेको बताउँछन्। ‘दुई हारले दबाब महसुस भएको छैन। यहाँबाट सुधार गर्नुको विकल्प छैन,’ उनले भने,‘ आगामी खेलमा राम्रो गर्छौं।’
लुम्बिनीले अबको ६ दिनभित्र पाँच खेल खेल्नेछ। त्यसैले पनि लुम्बिनीको बलिङ युनिटलाई सुधार गर्ने पर्याप्त समय हुने छैन।
लुम्बिनीले शनिबार नै तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्दै छ। जुन टोलीलाई प्लेअफको बलियो दाबेदारको रूपमा पनि हेरिएको छ। यस्तोमा रोहितका लागि तेस्रो खेल पनि निकै कठिन साबित हुनेछ। रोहितको टोली लुम्बिनीको कमजोर बलिङ सुदूरपश्चिमको बलियो ब्याटिङसामु निरीह बन्न पनि सक्नेछ।
पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निकै खराब सुरुआत गरेको थियो। ओपनरद्वय आशुतोष घिरैया र उनमुक्त चन्द शून्यमा पेभेलियन फर्किए। यद्यपि, कप्तान रोहित र टम मोरेस चम्किए र लुम्बिनी निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल बनाउन सफल भयो।
यस क्रममा कप्तान रोहित एनपिएलकै पहिलो शतकबाट पाँच रनले चुके। उनी ९५ रनमा इनिङको अन्तिम बलमा रनआउट भए। ५९ बल खेल्दै उनले १० चौका र चार छक्का प्रहार गरे। मोरेस पनि ४५ रनमा रनआउट भए।
१९औं ओभरको अन्तिम बलमा आउट भएका मोरेसले ३८ बलमा समान दुई चौका र छक्का प्रहार गरे। सन्दीप जोराले १८ रनको योगदान दिँदा लुम्बिनीको लक्ष्य बलियो स्थितिमा पुर्याए। तर, बलिङमा साथ पाउन नसक्दा यो लक्ष्य लुम्बिनीको लागि पर्याप्त भएन।
कर्णालीको पहिलो जित
बलिङमा उत्कृृष्ट साथ पाएपछि कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले स्तब्ध बनाउँदै एनपिएलमा पहिलो जित निकालेको छ। भारतीय अनुभवी ब्याटर शिखर धवनलाई भिœयाएको कर्णालीले दुई हारपछि पहिलो जित आत्मसात् गरेको हो।
कुशल मल्लको कप्तानीमा रहेको चितवनले भने दुई जितपछि पहिलो हार सामना ग¥यो। चितवनले १३१ रनको सामना लक्ष्य दिएको थियो। तर, त्यो लक्ष्य पूरा गर्न कर्णालीले चार विकेट गुमाएर १९.५ ओभरसम्म कुर्नुपर्यो। यो जित पनि कर्णालीले संघर्षपूर्ण तरिकाले निकालेको हो।
जितका लागि अन्तिम ओभरमा कर्णालीलाई ९ रन आवश्यक थियो। तर, कर्णालीले एक विकेट गुमाए पनि अन्तिम बलअगावै लक्ष्य पूरा गर्यो। रिजन ढकालले सुरुका तीन बलमा समान दुई रन दिए। त्यसपछि खेल थप रोमाञ्चक बन्यो। कर्णालीलाई पहिलो जित निकाल्न अब तीन बलमा तीन रन आवश्यक पर्यो। चौथो बलमा अर्जुन घर्ती रनआउट भए। ओमानी अलराउन्डर जिसान मकसुदले लगत्तै बलमा चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए।
प्रकाशित: २२ मंसिर २०८१ ०९:१४ शनिबार





