भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको १४ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले मोरङका छुट्टाछुट्टै स्थानबाट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार १४ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको लत्ताकपडा र हरियो तरकारी नियन्त्रणमा लिइएको हो।
उनका अनुसार सीमा सुरक्षा गुल्म रानीको टोलीले भारतबाट तीन वटा मोटरसाइकलमा लोड गरेर ल्याइँदै गरेको १२ लाख २७ हजार ३ सय रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो।
यस्तै, बिओपी दरैयाको गस्ती टोलीले एक लाख ८५ हजार रुपैयाँ बराबरको अवैध रूपमा ल्याइँदै गरेको हरियो तरकारी बरामद गरेको छ। उक्त तरकारी एउटा सिटी सफारीमा राखेर तस्करी गरी ल्याइएको एसपी भण्डारीले बताए।
बरामद गरिएका तीन वटा मोटरसाइकल, सिटी सफारी तथा कपडा र तरकारी विराटनगर भन्सार कार्यालय बुझाइएको र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी बढाएको एसपी भण्डारीले बताए।
प्रकाशित: ७ श्रावण २०८३ १७:३७ बिहीबार





