११ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

सुर्खेतमा एक वर्षमा ९१ जबरजस्ती करणीका मुद्दा दर्ता

यस आर्थिक वर्षमा मात्रै सुर्खेतमा जबरजस्ती करणीका ९१ वटा घटनाका मुद्दा दर्ता भएका छन्।

जिल्लामा दर्ता भएका यौनजन्य अपराधमध्ये यो संख्या निकै चिन्ताजनक रहेको प्रहरीको विश्लेषण छ। यसले महिला तथा बालबालिकामाथि हुने हिंसा अझै चुनौतीका रूपमा रहेको पाइएको छ।

विशेष गरी जबरजस्ती करणीजस्ता गम्भीर अपराधको उच्च संख्याले कानुनी कारबाहीसँगै सामाजिक सचेतना, पीडित संरक्षण र रोकथाममुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको छ।

त्यस्तै सुर्खेतमा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले अपराधको ग्राफ लगातार उकालो लागेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ०.१४ प्रतिशत अपराध वृद्धि भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २०८२/०८३ मा अपराध १.१५ प्रतिशतले बढेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले अपराधको दर बढ्दो क्रममा रहेपनि त्यसको नियन्त्रण र न्यूनीकरणका लागि प्रहरीलाई अझ सक्रिय र प्रविधिमैत्री ढंगले परिचालन गरिएको बताए। उनका अनुसार समुदाय–प्रहरी साझेदारी, नियमित गस्ती, सूचना संकलन तथा अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइनेछ।

प्रहरीका अनुसार अपराध बढ्नुमा जनसंख्या वृद्धि, सहरीकरण, वैदेशिक रोजगारीका सामाजिक प्रभाव, पारिवारिक विखण्डन, लागूऔषध दुर्व्यसन तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न कारणले पनि भूमिका खेलेको हुन सक्ने देखिन्छ।

एसपी पोखरेलले अपराध न्यूनीकरणका लागि जिल्लाभरका सबै प्रहरी इकाइलाई उच्च सतकर्तामा राखिएको जानकारी दिँदै समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए। 

प्रकाशित: ७ श्रावण २०८३ १७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App