लोकेश बमको धमाकेदार प्रदर्शनसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो पहिलो जित दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै विराटनगरले आफ्नो खाता खोलेको हो।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले खेलको अन्तिम बलभन्दा एक बलअघि ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै रोमाञ्चक जित हात पारेको हो।
ओपनर इस्मत आलम खाता नै नखोली आउट भएपछि दोस्रो विकेटका लागि मार्टिन गप्टिल र लोकेश बमले ६२ रनको साझेदारी गरे। गप्टिलले २८ रन बनाउँदै पेभिलियन फर्किए भने बसिर अहमदले उत्कृष्ट ४० रनको योगदान दिए।
लोकेश बमले मैदानमा धुवाँधार ब्याटिङ गर्दै ४७ बलमा ३ चौका र ६ छक्कासहित ७१ रन बनाए। उनको प्रदर्शनले विराटनगरलाई जिततर्फ डोर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो। लोकेश आउट हुँदा विराटनगरको स्कोर १६३ रनमा ६ विकेट गुमाएको अवस्था थियो।
पछिल्ला ओभरमा दबाबमा परे पनि अन्तिम क्षणमा क्रिस सोलको धमाकेदार प्रदर्शनले विराटनगरलाई जिततर्फ पुर्यायो। अन्तिम ६ बलमा १६ रन आवश्यक रहेको अवस्थामा सोलले एक छक्का र दुई चौकाको मद्दतले नाटकीय शैलीमा टोलीलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ७ विकेट गुमाएर १९१ रनको विशाल योगफल खडा गरेको थियो। जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।
ओपनर आशुतोष घिरोहिया र अर्जुन साउद क्रमशः १५ र १७ रनमा आउट भए। कप्तान रोहित पौडेल र टम मोरेजले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै आक्रामक ब्याटिङ गरे। रोहितले २९ बलमा ४ चौका र २ छक्कासहित ४६ रन बनाए। टम ३० रनमा आउट भए।
लुम्बिनीका आठौं क्रमका ब्याटर विवेक यादवले विस्फोटक प्रदर्शन गर्दै ७ बलमा ३ छक्कासहित अविजित १९ रन बनाए। तर, चार खेलाडी रनआउट हुनु टोलीका लागि घातक सावित भयो।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, ईस्मत आलम र राजेश पुलामीले समान १/१ विकेट लिए। यो खेलमा सन्दीपले जारी प्रतियोगितामा आफ्नो पहिलो विकेट लिन सफल भए।
यस जितसँगै विराटनगरले प्रतियोगिताको तीन खेलमा पहिलो जित हात पार्दै राहत महसुस गरेको छ। लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमा पराजित भएको छ।
हेर्नुहोस् तस्बिरहरु :







प्रकाशित: १९ मंसिर २०८१ १६:३१ बुधबार





