१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगरको आश्वासन

पत्रकार सम्मेलनमा पोखरा महानगरका मेयर, क्यान अध्यक्षसहित आइसिसी प्रतिनिधि । तस्बिर : सन्देश श्रेष्ठ/नागरिक

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टोलीले पोखरा क्रिकेट रंगशालाको अवलोकन गरेको छ । महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ । जसको सम्भाव्यता अध्ययनका लागि आएको आइसिसीको टोलीले रंगशालाको अवलोकन गरेर त्यसका सरोकारवालाहरुसँग छलफलसमेत गरेको हो ।

आईसिसीका सिनियर म्यानेजर रोहित पोदार, एसिया डेभलपमेन्ट म्यानेजर ईम्यानुयल ईस्लाम, क्रिकेट एशोसियसन नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतको टोलीले पोखरा क्रिकेट रंगशालाको अवलोकनसँगै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यलगायतसँग छलफलसमेत गरेको छ ।

छलफलका क्रममा मन्त्री थापा र मेयर आचार्य दुबैले क्रिकेट रंगशालामा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गर्न तयार रहेको बताएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । आईसिसीको टोलीलाई स्वागत गर्न रंगशालामै पुगेका मेयर आचार्यले भने ‘महिला क्रिकेट विश्वकपका केहि खेलहरु पोखरामा हुनुपर्‍यो, त्यसका लागि महानगरले रंगशालामा आवश्यक भौतिक पूर्वाधारसहित के के गर्नुपर्ने हो त्यो सबै गर्छ ।’

त्यस्तै, प्रदेश मन्त्री थापाले पनि महिला विश्वकप क्रिकेटका खेलहरु जसरीपनि पोखरामा गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । मन्त्री थापाले भने, ‘पोखरामा खेल आयोजना गर्न मन्त्रीज्यूले हामी आतुर र्छौं । त्यसका लागि प्रदेश सरकारले के गर्नुपर्छ भन्नूस् त्यो हामी सबै गर्छौं भन्नु भएको छ ।’

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले दिएको आश्वासनप्रति आईसिसी टोली आशावादी बनेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । प्रदेश र स्थानिय सरकार दुबैले क्रिकेट रंगशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सकारात्मक छौै भन्नु भएको छ,उनले भने,‘यसले हामीलाई आशावादी बनाएको छ । तर विश्वास गरिहाल्ने स्थिति भने छैन ।’ 

तीनै तहका सरकारलाई क्रिकेट रंगशाला बनाउन पटक÷पटक आग्रह र ताकेता गर्दापनि बजेट नदिएकाले विश्वास गर्ने आधार नबनेको आईसिसीका प्रतिनिधि र आफूहरुको निश्कर्ष रहेको उनको भनाई थियो । उनले टियू मैदान पहिलो रोजाईको रंगशाला भएको बताउँदै भने,‘पोखरा दोश्रो रोजाई हो । हामीपनि पोखरामा खेल होस् भन्ने चाहनामै छौं । तर यहाँका प्रदेश र स्थानिय सरकारले पूर्वाधार निर्माणमा कत्तिको तदारुकता देखाउँछन्, त्यसैमा भर पर्छ ।’

आइसिसीका सिनियर म्यानेजर रोहित पोदारले पोखरामा खेल खेलाउन आईसिसी सकारात्मक रहेको बताए । तर त्यसका लागि रंगशालामा आवश्यक पूर्वाधार निर्माण अनिवार्य शर्त भएको बताए । उनले भने,‘हामीले भनेर मात्र खेल हुने होईन, खेल हुनका लागि रंगशालाको अन्र्तराष्ट्रिय मापदण्ड हुन्छ, त्यो पूरा हुनुपर्छ ।’

आईसिसीकै एसिया डेभलपमेन्ट म्यानेजर ईम्यानुयल ईस्लामले पोखरामा खेल हुने हो भने प्याराफिट, स्कोर वोर्डदेखि अपाङ्गता भएकालेपनि सहजै आवतजावत गर्नसक्ने वातावरण निर्माणलगायतका पूर्वाधार बनाउनुपर्ने बताए । मेयर र मन्त्री ज्यू पोखरामा खेल गराउन सकारात्मक पायौं,उनले भने,‘तर मुखले भनेरमात्र भएन, भौतिक पूर्वाधार बनाउनुप¥यो । त्यसमा काम कस्तो हुन्छ त्यसले यहाँ खेल हुने नहुने टुंगो लाग्छ ।’

क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा महिला क्रिकेट विश्वकपको खेलहरु ल्याउन आफूहरुले प्रयत्न गरिरहेको बताए । तर कुरा पूर्वाधारमै अड्किएको उनको भनाई थियो । पूर्वाधार निर्माणका लागि ठूलो बजेटपनि आवश्यक नपर्ने भन्दै उनले भने,‘प्रदेश र महानगर मिलेर ३ देखि ४ करोड दिए आईसिसीको मापदण्ड अनुसारको रंगशाला बनाउन सक्छौं ।’

प्रकाशित: १२ मंसिर २०८१ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App