१८ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

‘लामो फर्म्याटको खेल आवश्यक’

आइसिसी विश्वकप लिग–२ को अमेरिका र क्यानडा भ्रमणबाट बिहीबार स्वदेश फर्किएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

आइसिसी विश्वकप लिग–२ मा खराब प्रदर्शन गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लामो फर्म्याटका खेल आवश्यक रहेको धारणा राखेका छन्।

आठ राष्ट्र सम्मिलित लिग–२ मा आफ्नो १२ खेल सकिँदा नेपाल ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। एकदिवसीय फर्म्याटको लिग–२ मा कमजोर प्रदर्शन गरेपछि नेपालका कप्तान रोहितले ५० ओभर र दुईदिवसीय खेल आवश्यक रहेको महसुस गरेका हुन्। यद्यपि, नेपालले अमेरिकामा भएको लिग–२ को शृंखलाअगाडि नै टी–ट्वेन्टी खेल खेलेको थियो। त्यसले नेपाली टोलीलाई लगत्तै ५० ओभरमा खेल्न सहज भएन। कप्तान रोहितले पनि पछिल्लोपल्ट आफ्नो टोलीले टी ट्वेन्टी क्रिकेट धेरै खेलेको उल्लेख गरे।

तर, ब्याट्सम्यान भएपछि कुनै पनि बहाना गर्न छुट नहुने र ५० ओभरमा पनि राम्रो गर्नुपर्ने उनको धारणा छ। अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उनले बताए। लिग–२ अन्तर्गत अमेरिकामा स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको थियो।

सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान रोहितले एकदिवसीयमा ब्याटर अभ्यस्त हुन नसकेको उल्लेख गर्दै लामो फम्र्याटको क्रिकेट खेल्दा सुधार हुने आशा व्यक्त गरेका हुन्। यी फम्र्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने उनको विश्वास छ।

पछिल्ला दुई शृंखला (क्यानडा र अमेरिका) बाट आठ खेलमा नेपालले एक मात्र जित निकालेको छ। त्यसैले पनि नेपाल लिग–२ को अंकतालिकामा कमजोर देखिएको छ। अमेरिकामा एकदिवसीय शृंखलाअगाडि नेपालले टी–ट्वेन्टी फम्र्याटको शृंखला खेलेको थियो।

 घरेलु टोलीविरुद्ध भने उक्त शृंखला ‘ह्वाइट वास’ पनि ग¥यो। तर, ५० ओभरमा भने नेपाली टोलीको प्रदर्शन सुखद बन्न सकेन। त्यसैले पनि नेपाली टोलीले आलोचना सामना गरिरहेको छ। रोहितले क्यानडा र अमेरिकामा पनि जुन लक्ष्य लिएर गएको थियो त्यो पूरा हुन नसकेको स्वीकार गरे।

क्यानडाको पिचमा खेल्न सहज नभएको उनी बताउँछन्। तर, अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उनले उल्लेख गरे। क्यानडा भ्रमणमा तीन खेल गुमाउँदा र एक खेलमा वर्षा बाधक हुँदा नेपालले एक अंक पाएको थियो।

लगत्तै अमेरिका भ्रमण गरेको नेपाली टोलीले त्यहाँ पनि सन्तोषजनक प्रदर्शन गर्न सकेन। तर, रोहितले लामो फम्र्याटमा तयारी गर्दै आगामी खेलमा राम्रो गर्ने बताएका छन्। उनले हारका बावजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे।

आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो ‘बोन्डिङ’ रहेको उनको भनाइ छ। नेपाली टोलीका ब्याटिङ कन्सल्ट्यान्ट जगत टमाटाले क्यानडाको ‘कन्डिसन’ मा खेल्न समस्या रहेको बताए। तर, अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गरे। अमेरिकामा पनि खेल्न राम्रो ‘कन्डिसन’ नभए पनि एउटा ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनको धारणा थियो। टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने उनले बताए।

घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने टमाटाले आशा गरे। उनले अबको २४ खेलमा राम्रो क्रिकेट खेल्दै नतिजा ल्याउने आशा व्यक्त गरे। नेपालले अमेरिकाको शृंखलामा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो। स्कटल्यान्डसँग जित निकाल्दै सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन। अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो।

प्रकाशित: २३ कार्तिक २०८१ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App