६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

न्यौपाने अन्तरिम प्रशिक्षक

नेपाली राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार उनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो। भदौ ११ र १२ गते बसेको एन्फा कार्यसमिति बैठकले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिससँग सम्झौता थप नगर्ने निर्णय गरेपछि नेपाली टोली प्रशिक्षकविहीन थियो।

उक्त निर्णयसँगै एन्फाले भदौ ३१ गते सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि खुला दर्खास्त आह्वान गरेको थियो। तर, अहिलेसम्म एन्फाले प्रशिक्षकको निर्णय गर्न सकेको छैन। त्यसैले फिफा विन्डोअन्तर्गतको खेलका लागि न्यौपानेलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

एसियाली विश्वकप छनोटको मार्चमा हुने खेलका लागि भने एन्फाले प्रो–लाइसेन्सधारी पूर्णकालीन प्रशिक्षक नियुक्त गर्नु पर्नेछ। तर, एन्फा हेड अफ एकेडेमीको जिम्मेवारी सम्हाल्दै आएका न्यौपानेसँग भने उक्त लाइसेन्स छैन। एनिसले सन् २०२३ मार्चमा नेपाली टोली सम्हालेका थिए। उनको कार्यकालमा नेपालले थ्री नेसन्स कपमा, साफ च्याम्पियनसिप, विश्वकप छनोट र मैत्रीपूर्ण गरी १६ खेल खेलेको थियो। नेपालले जम्मा चार खेल मात्र जित हात पारेको थियो। तीन खेल बराबरी खेल्दा १० मा पराजय बेहोरेको थियो।

न्यौपानेको प्रशिक्षणमा नेपालले नोभेम्बरमा घरेलु टोली ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ। तर, मिति भने तय नभइसकेको उनले बताए। ताजिकिस्तान विश्व वरीयतामा नेपालभन्दा ७३औं स्थान माथि रहेको टोली हो। विश्व वरीयतामा ताजिकिस्तान १०३औं स्थानमा छ। नेपाल भने १७६औं स्थान छ।

नेपालले यसअघिका दुई फिफा विन्डो गुमाएको थियो। नेपालले अन्तिमपल्ट जुन ११ मा विश्वकप छनोटअन्तर्गत दमाममा यमनसँग प्रतिस्पर्धा गरेको थियो। त्यसयता यो टोली मैदान नउत्रिएको चार महिना भइसकेको छ। अन्तरिम प्रशिक्षक नियुक्त भएसँगै न्यौपानले सोमबार नै ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

न्यौपानेलाई सहायक प्रशिक्षक चेतन घिमिरेले सहयोग गर्नेछन्। यस्तै, गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन नियुक्त भएका छन्। नवीन न्यौपानेको प्रशिक्षणमा नेपालले नोभेम्बरमा घरेलु टोली ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ। तर, मिति भने तय भइसकेको छैन।

प्रकाशित: ६ कार्तिक २०८१ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App