आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि पहिलोपटक न्युजिल्याण्डले जितेको छ।
आइतवार भएको फाइनल खेलमा साविक उपविजेता समेत रहेको साउथ अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक उपाधि हात पारेको हो।
न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो।
साउथ अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले सर्वाधिक ३३ रन बनाउँदा ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो अङ्क पनि जोड्न सकेनन्।
साउथ अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका रोसमेरी मेइर र अमेलिया केरले समान ३-३ विकेट लिइन्। यस्तै एइडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ /१ विकेट हात पारिन्।
टस हारेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो।
न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् भने ब्रुकी हालिडेले ३८ रन जोडिन्। त्यस्तै ओपनर सुजी बेट्सले ३२ रन बनाउँदा म्याडी ग्रीनले नट आउट रहँदै १२ रन जोडिन्।
साउथ अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिइन्।
सन् २००९ मा सुरु भएको महिला टी-२० विश्वकपको सुरुवाती दुई संस्करणको फाइनलमा उपाधिबाट चुकेको न्युजिल्याण्डको यो पहिलो उपाधि हो भने साउथ अफ्रिकाले फेरि उपविजेतामै चित्त बुझाउनुपरेको छ।
न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा साउथ अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो।
प्रकाशित: ५ कार्तिक २०८१ ०६:०७ सोमबार