प्रशिक्षण शैलीमा सुधारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आवश्यक छलफल अगाडि बढाएका छन्।
विगतका प्रशिक्षण शैलीले मात्र सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिने निचोढ निकाल्दै राखेपले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग छलफल अगाडि बढाएको हो। राखेपका सदस्यसचिव घिसिङले लक्ष्य हासिल गर्न समस्याको पहल, प्रशिक्षण र भावी योजनासहित तयारी गर्नुपर्ने लगायत विषयमा धारण राखेका छन्। सदस्यसचिव घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका हुन्। मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै आवश्यकताअनुसार रिफ्रेसर कोर्ष गर्न घिसिङले जोड दिए।
सदस्यसचिव घिसिङले वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता आंैल्याए। वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र त्यसका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको पनि उनको भनाइ छ। सदस्यसचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा महिनामा एक पटक बैठक समेत राख्ने बताएका छन्।
उक्त छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उपनिर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, उसु, पौडी, जिम्न्यास्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षक सहभागी थिए।
प्रकाशित: ११ आश्विन २०८१ १०:४७ शुक्रबार





