१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

असोज ३ गतेदेखि ‘दोस्रो चितवन गोल्डकप’

चितवनमा दुई वर्षपछि पुनः ठूला फुटबल प्रतियोगिता हुने भएको छ। २०५८ सालमा स्थापित भरतपुर फुटबल क्लबले दोस्रो संस्करणको रुपमा ‘गोल्डेन इमिनेन्ट चितवन गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना गर्न लागेको हो।

भरतपुर फुटबल क्लबले आज (आइतबार) पत्रकार सम्मेलन गरी आउँदो असोज ३ गतेदेखि १२ गतेसम्म गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिएको हो।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए।  

प्रतियोगितामा 'ए' डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब गरी १० टोली सहभागी हुनेछन्। प्रतियोगितामा आयोजक बिएफसी, सूर्यपुर एफसी, नेपाल पुलिस क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाईटेड, सल्हेस एफसी सिराहा, न्यु स्टार सुनसरी र राइजिङ स्टार भुमही सहभागी हुनेछन्। थप एक टिमको कागजी प्रक्रिया पुरा हुन बाँकी रहेको संयोजक धुर्व भुसालले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा असोज सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन्। उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ। त्यस अघि एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिने भुसालले बताए।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरु अवलोकन गर्ने आयोजकको अनुमान छ। दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिए। प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको उनले जनाए।

पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनमा समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए।

चितवन गोल्ड कपको पहिलो संस्करण २०७९ भदौ २५ देखि असोज ३ गतेसम्म सञ्चालन भएको थियो। पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो।

प्रकाशित: २३ भाद्र २०८१ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App