३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

‘हरिश्चन्द्र स्मृति फुटबल कप’ त्रिवेणी माविलाई

ट्रफि चुम्दै त्रिवेणी माविका खेलाडी । तस्बिर: महेश्वर/नागरिक

उदयपुरको कटारीमा सम्पन्न ‘अन्तरविद्यालयस्तरीय प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’ त्रिवेणी नमुना मावि कटारीले जित्न सफल भएको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा त्रिवेणीले सिन्धुलीको नमुना मावि लदाभीरलाई ४–३ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

कटारी टाईगर क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा दुवै पक्षको खेल गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरमा धकेलिएको थियो।

टाईब्रेकरमा त्रिवेणीले ४ गोल गर्दै लदाभीरलाई ३ गोलमा रोक्न सफल भयो। त्रिवेणीका स्मीथ भुजेल, रितेश दनुवार, शुसेन ठकुरी र गगन अधिकारीले गोल गर्दै विजय सुनिश्चित गरे। राजु विकको प्रहार भने गलत सावित भयो। 

लदाभीरका लागि टीका थापा मगर, समिर कुमर र सनिल कुमरले मात्र गोल गर्न सके। मनिष कुमर र जितलाल कुमरका प्रहारले पोष्टमा प्रवेश पाउन सकेन।

प्रतियोगितामा त्रिवेणीका स्मीथ भुजेलले सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरको उपाधि प्राप्त गरे। त्रिवेणीकै सुरेन्द्र मगर उत्कृष्ट गोल रक्षक बने भने सुनिल थापाले उदीयमान खेलाडीको उपाधि जिते।

उत्कृष्ट मिडफिल्डरको उपाधि लदाभीरका मनिष कुमरलाई प्राप्त भयो र सर्वाेत्कृष्ट गोलकर्ता बालमन्दिर मावि वोक्से गाईघाटका लक्की राई घोषित भए।

विजेता त्रिवेणी माविले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता लदाभीरलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, सिन्धुलीको दुधौली नगरप्रमुख दिनेश अधिकारी दनुवार, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र स्वर्गीय हरिचन्द्र साहकी श्रीमती सुनिता साहले पुरस्कार र प्रमाणपत्र वितरण गरे।

सर्वोत्कृष्ट खेलाडी स्मीथ भुजेललाई कटारी किचेनका सञ्चालक रुक्जा राईले साइकल उपहार प्रदान गरिन्। प्रतियोगितामा उदयपुर र सिन्धुलीका १४ विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिता भदौ ७ देखि सुरु भएको थियो। यसको प्रायोजन स्वर्गीय हरिश्चन्द्र साहको परिवारले गरेको थियो। खेल संयोजक तथा प्रशिक्षक रोहन जोशीका अनुसार कक्षा १० सम्मका सामुदायिक र संस्थागत विद्यालयका छात्रहरुलाई प्रतिस्पर्धी बनाइएको थियो।

पुरस्कार वितरण गर्दै मेयर श्रेष्ठले खेलकुदले किशोर र बाल उमेरमा लगाव बढाउँदै भविष्यमा उत्कृष्ट खेलाडीको जन्म दिने विश्वास व्यक्त गरे। उनले नगरपालिकाले भविष्यमा पनि यस्ता प्रतियोगिताहरूको आयोजना गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २१ भाद्र २०८१ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App