२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

न एन्फा, न मैदान नै तयार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान मर्मत गरिरहेको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिका सिइओ थमन भुसालले बाहिरबाट रोलर अगाडि बढाऊ भनेर कराइरहँदा अपरेटर जबाफ दिन्थे ‘हिलोमा फसिसक्यो बरु धकोल्न आउनुस् न!’

यही मैदानमा आगामी भदौ २ गतेदेखि साफ यु–२० च्याम्पियनसिप हुने भनिएको छ। तर, बिहीबार साँझसम्म पनि भुसाल मैदान बनाइरहेका थिए। यो मैदान एएफसी च्यालेन्ज लिग प्लेअफअन्तर्गत मंगलबार चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलका कारण अझैँ हिलाम्मे छ। कतै खाल्टाखुल्टी त कतै भुक्क उठेपछि उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै रोलर चलाएर सम्म्याउन निर्देशन दिएको थियो। तर, रोलर लिएर मैदान पुगेका उनी कतै टायर फस्ला र निकाल्न गाह्रो होला भनेर चिन्तित थिए।

एक छेउमा भुसाल तयार थिए। जब रोलर फस्थ्यो निकाल्न केही मान्छे र इँटा लिँदै दौडिएर उनी मैदान पुग्थे। लगातार वर्षाका कारण चर्च ब्वाइज र पारोको खेलअघि उनले माटो थपेको स्थानमा रोलर चलाउन पाएका थिएनन्। त्यही माटो खुकुलो हुँदा हिलो भएको उनको दाबी छ। बिहीबार दिउँसो घाम लागेर मैदान सुकेपछि उनी रोलर लिएर त्रिपुरेश्वर आइपुगेका हुन्। ‘बुधबार हिलो नै भएकाले रोलर चलाउन सकेनौं। बिहीबार घाम लागेपछि सम्म्याउने काम गरेका हौं। यी यसरी फस्छ,’ रोलर देखाउँदै उनी भन्छन्।

साफ खेल्ने विदेशी पाँच टोलीमध्ये माल्दिभ्स काठमाडौं आइसकेको छ। अन्य टोली शुक्रबार र शनिबार काठमाडौं आइपुग्नेछन्। घरेलु टोलीको तयारी पनि अन्तिम चरणमा पुगेको छ। तर, मैदानको स्थिति सुधार हुन नसक्दा आयोजक एन्फा ढुक्कसाथ प्रतियोगिता अन्तिम तयारीमा पुगेको भन्न तयार छैन। आइतबार नेपाल र श्रीलंकाबीच हुने उद्घाटन खेलबारे एन्फाले अझै निर्णय गर्न सकेको छैन। ‘अन्तिम समयमा भए पनि खेल रंगशालामै गरौं भन्ने हो। बिहीबार साँझ पनि वर्षा भएको छ। रोलर त चलेको छ। पानी नपरेको भए यहीं गराउन सम्भव हुन्थ्यो। वर्षाको हानिअनुसार निर्णय गर्छौं,’ महासचिव राई भन्छन्।

भुसालले वर्षा भएकाले आइतबारको खेलअघि मैदान तयार बनाउन नसक्ने ब्रिफिङ गरेका थिए। उनले समय पाए सेमिफाइनल र फाइनलका लागि मैदान तयार बनाउने आश्वासन दिए। एन्फाले मैदान तयार बनाउन उनलाई निर्देशन दिइरहेको छ। एन्फाको लक्ष्य श्रीलंका र बंगलादेशविरुद्ध नेपालको खेलसँगै सेमिफाइनल र फाइनल पनि रंगशालामै खेल्न योग्य बनाउनु हो। तर, बिहीबारको स्थिति हेर्दा मैदान सुधार हुने देखिएको छैन। रोलर लगाएका केही भागमा करिब चार इन्चसम्म मैदान दबिएको छ। कतै माटो फुटेको छ, कतै हिलो यथावत् नै छ। हिलोले केही भाग त पिच नगरिएको बाटोमा मोटर कुदाएजस्तै छ।

त्यसैले कुनै पनि हालतमा खेल गराउने एन्फाको लक्ष्य पूरा नहुने देखिएको छ। ‘मैदान तय भए ठीक छ नत्र सातदोबाटोको टर्फ नै हो। म्याच कमिसनर शुक्रबार बिहान आउनुहुन्छ। उहाँको निरीक्षणपछि यकिन गर्छौं,’ एन्फा महासचिव राई भन्छन्। दरशथ रंगशालाको दर्शक क्षमता करिब १५ हजार हो। चर्च ब्वाइज र पारोबीचको खेलमा ९ हजार आठ सय ७३ दर्शक रंगशालामा उपस्थित थिए। दर्शकलाई १२औं खेलाडीका रूपमा मानिन्छ। यसले घरेलु टोलीको हौसला बढाउने मात्रै होइन विपक्षीमाथि दबाब पनि सिर्जना गर्छ।

नेपाली यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवाले ठूलो संख्यामा समर्थक आउने आशा गरेका छन्। तर, एन्फा कम्प्लेक्समा खेल भए उनीहरूले सोचेजस्तो समर्थक आउने सम्भावना नै छैन। एन्फाको पारापिटको क्षमता करिब २५ सय मात्रै रहेको प्रवक्ता सुरेश शाह बताउँछन्। त्यही पारापिटमा पनि पूर्ण समर्थक राख्न सक्ने स्थिति छैन। ‘सातदोबाटोमै खेल भए भिआइपीतर्फ दर्शक राख्दैनौं। सामान्यतर्फ मात्रै राख्ने हो। त्यसैले १५ सय मात्रै टिकट बिक्री गर्नेछौं,’ उनले भने। यो मैदानको टर्फको आयु १२ वर्षमात्रै हो। त्यो समाप्त हुने स्थितिमा छ। एन्फा पदाधिकारी, कर्मचारी, पत्रकार, कलाकार, बालबालिका र सर्वसाधारणले पनि फुटबल खेल्ने यही टर्फ हो।

त्यसैले विदेशीले मात्रै होइन लिग खेल्ने घरेलु खेलाडीले पनि बेलाबेलामा टर्फको गुणस्तरबारे गुनासो गर्छन्। यही टर्फमा साउन २६ गतेसम्म एन्फा यु–१८ लिगका खेल भइरहेका थिए। आठौं चरणसम्म ४८ खेल यहीं भए। चर्च ब्वाइज र यु–२० टोलीले पनि यहीं अभ्यास गरे। तर, यतिका वर्ष भइसक्दा पनि एन्फाले टर्फ मर्मत गरेको छैन। त्यसैले साफमा पनि गुनासो गर्ने स्थिति सिर्जना हुन सक्छ। तर, एन्फा भने अन्य विकल्प नै नरहेको भन्दै पन्छिन खोज्छ। विगतमा पनि रंगशाला तयार नहुँदा यही टर्फमा खेलाएको उदाहरण दिन पछि पर्दैन। ‘हामीसँग भएको त्यही रंगशाला मात्रै हो। कि त त्यही हिलो मैदानमा खेल्नुपर्‍यो। कि त टर्फमै हो। टर्फ खेल्न योग्य नै छ। सम्भवतः रंगशालामा खेल भएन भने यही खेलाउँछौं। सेमिफाइनल र फाइनल भने रंगशालामा खेलाउँछौं,’ उनी भन्छन्।

यसअघि पनि प्रतियोगिता हुनुअघि मैदान नबिग्रिएको होइन। गत वर्ष साफ यु–१९ हुँदा पनि यही रंगशालामा रग्बी भएको थियो। त्यो खेपछि मैदान खाल्टा थिए। खेलाडीले त्यो देखे पनि प्रश्न गरेनन् । त्यति बेला मैदानको संरक्षण एन्फाले गरेको थियो। मैदानको स्तरमा सुधार नभएपछि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाबाट जिम्मेवारी खोस्यो। तर, पनि सुधार देखिएन र साफ यु–२० को खेल रंगशालामा नभए एन्फालाई बहाना बनाउन सहज हुने भएको छ। त्यही भएर अन्तिम समयसम्म पनि प्रतियोगिताको खेलस्थान अन्योलमै छ। 

प्रकाशित: ३२ श्रावण २०८१ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App