१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

हारबाट जोगियो पुलिस

इन्जुरी समयमा सुजलमान घलेले गोल गरेसँगै मच्छिन्द्र फुटबल क्लबसँग विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा हारबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुनरागमन गर्दै पुलिसले मच्छिन्द्रलाई ३–३ को बराबरीमा रोकेको हो।

यससँगै शीर्षमा रहेको पुलिसले दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबसँग अंकदूरी बढाउने मौका गुमाएको छ। आठ खेल खेलेको पुलिसको यो दोस्रो बराबरी हो। पुलिसले ६ जित र दुई बराबरीसँगै २० अंक जोडेको छ। जुन समान खेल खेलेको मनाङको भन्दा दुई बढी हो।

चौथो स्थानमा रहेको मच्छिन्द्रको भने समान खेलबाट १५ अंक छ। मच्छिन्द्रका पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोकिन रानामगरले गोल गरे। विक्रम गौतम, सुवास बम र सुजलमान घलेले पुलिसका लागि गोल फर्काए।

३०औं मिनेटमै पदमले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। ५४औं मिनेटमा प्रशान्तले मच्छिन्द्रको अग्रता दोब्बर बनाए। तर, दुई गोलको अग्रता बनाइसकेको मच्छिन्द्रले डिफेन्समा सुधार गर्न सकेन। फलतः ७५औं मिनेटमा विक्रमले गोल गर्दै पुलिसलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि नै रोनिकले गोल गर्दै मच्छिन्द्रको अग्रता ३–१ मा पुर्‍याए। यद्यपि, मच्छिन्द्रले दबाब थेग्न सकेन। ७९औं मिनेटमा अनिश थिङ दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए। त्यसपछि मच्छिन्द्र झनै दबाबमा पर्‍यो। यसको फाइदा पुलिसले उठाउन भ्यायो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान सुवास बमले गोल गर्दै पुलिसलाई ३–२ को स्थितिमा ल्याए। इन्जुरी समयको पहिलो मिनेटमा मच्छिन्द्रले अर्को गोल बेहोर्‍यो। यसपल्ट सुजलले गोल गर्दै पुलिसलाई हारबाट जोगाए।

अर्को खेलमा सविनकुमार लुंगेली मगरको ह्याट्रिकप्रेरित संकटा फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ६–० को फराकिलो जित हासिल गरेको छ। संकटाको यो तेस्रो जित हो।

प्रकाशित: २५ श्रावण २०८१ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App