५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसको प्रभावशाली जित

विक्रम गौतम एक्लैले चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगको पहिलो खेलमै प्रभावशाली जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा पुलिसले थ्री स्टार क्लबलाई ७–२ गोलअन्तरले पराजित गरेको हो। सुरुआती मिनेटदेखि नै आक्रामक खेल पस्किएको पुलिसले सातौं मिनेटमै अग्रता लिएको थियो। पुलिसका लागि विक्रमले गोल गरेका थिए। पहिलो हाफमै विक्रमले ह्याट्रिक पूरा गरे। त्यस्तै, सुवास बमले पनि एक गोल थप्दै पुलिसलाई ४–० को फराकिलो अग्रता दिलाए।

दोस्रो हाफको पहिलो मिनेटमै सनिल स्याङ्तानले गोल गर्दै थ्री स्टारको खाता खोले। तर, ५३औं मिनेटमा विक्रमले गोल थप्दै पुलिसलाई ५–१ को बलियो स्थितिमा पुर्‍याए। त्यसपछि पुलिसका साजनराज गौतम र आदित्य ढुंगेलले गोल थपे। अरूण टमाटाले थ्री स्टारका लागि गोल गरे पनि टोली ७–२ ले पराजित हुन पुग्यो। जितसँगै पुलिस शीर्ष स्थानमा उक्लिएको छ। पुलिसको तीन अंक रहेको छ। खुमलटार र न्युरोड क्लब (एनआरटी)को पनि समान तीन अंक छ। तर, गोलसंख्याबाट पुलिस शीर्ष स्थानमा पुगेको हो।

अर्को खेलमा विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लबले अंक बाँडेका छन्। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आयुश फुयालले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। तर, ७०औं मिनेटमा विवश दर्लामीले गोल फर्काउँदै एपिएफसँग एक अंक खोस्न सफल भए। 

प्रकाशित: १ श्रावण २०८१ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App