१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतसँग २४ रनले हार्‍यो अस्ट्रेलिया

आइसिसी टी–२०  विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार खेल डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो। र जित भारतलाई सुम्पिदियो।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४३ बलमा सर्वाधिक ७६ रन बनाए। यस क्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे। कप्तान मिचेल मार्सले टिममा लागि ३७ रन जोडे। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए। उनले २ चौका र १ छक्का हिर्काए। टिम डेभिडले ११ बलमा १५ रन जोडे। र प्याट कुमिन्सले ११ रन जोडे।

भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए। कुलदीप यादवले २ विकेट हात पारे। जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो। 

भारतका लागि कप्तान रोहित शर्माले शानदार ब्याटिङ गरे। रोहितले मात्र ४१ बलमा ९२ रन जोडे। यस क्रममा उनले ८ छक्का र ७ चौका प्रहार गरे।

रोहितसँगै ओपनरका रुपमा मैदान प्रवेश गरेका विराट कोहलीले गतिलो प्रदर्शन गर्न सकेनन्। उनले ५ बलको सामना गर्दै शून्य रनमा पभेलियन फर्किए।

ऋषभ पन्तले भारतका लागि १५ रन जोडे।  सूर्यकुमार यादवले ३१ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे।

शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे। रविन्द्र जडेजा ९ रनमा नटआउट रहे।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। मार्कस स्टोइनिसले पनि २ विकेट लिए। उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए। जोस हेजलवुडले एक विकेट हात पारे।

जितसँगै सुपर–८ को समूह–१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारतले अब फाइनल प्रवेशका लागि समूह–२ को उपविजेता इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यता, तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । मंगलबार हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको आगामी यात्रा निर्धारण गर्नेछ ।

प्रकाशित: ११ असार २०८१ ००:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App