१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ: खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।

आइतबार सय दिने कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी गराएका हुन । उनले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए।

मन्त्री श्रेष्ठले खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताए। 

उनले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारी पत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको जानकारी दिए। नेपाल स्काउटको जग्गा भाडामा लिने÷दिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको बताए। 

उनले सहभागितामूलक नीति निर्माणको अवधारणा अनुरूप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेश स्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको बताए। 

 नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई पूर्णता दिई क्रियाशील बनाइएको जानकारी गराए। अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मुलपानी क्रिकेट रंगाशालाको डिपिआर तयार गरिएको र किर्तिपुर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराए।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ–स्पोर्ट खेलको प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चलान गर्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १ हजार ४ सय ९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १ हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको बताए। युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्याङ्क प्राप्तिको लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: २ असार २०८१ १८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App