प्रथम कोसी प्रदेश दिवा–रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबिएससी लायन्स क्रिकेट क्लब विजयी भएका छन्।
विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसिसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स र दोस्रो खेलमा फूलबारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै एनबिएससी लायन्स विजयी भएका हुन्। जितसँगै दुवै टोलीले समान २÷२ अंक जोडेका छन्।
टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८१ रन बनायो। प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए। उनले ४ छक्का र १ चौका प्रहार गरेका थिए। तुलबहादुर थापाले ८ बलमा १५ रन बामउँदा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए। वाइआरसिसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। हेमन्त धमला र विपिन खत्रीले समान २÷२ विकेट लिए।
प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसिसीले ७ ओभरमा सबै विकेट गुमाई ७५ रन मात्रै बनायो। वाइआरसिसीका ओपनर देव खनालले ७ बलमा २० रन बनाए। उनले २ छक्का र २ चौका हिर्काए। अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए। उनले तीन छक्का र १ चौका प्रहार गरे। विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे। उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। उनी खेलको प्लेर अफ म्याच घोषित भए। साहब आलम र आयुष तिम्सिनाले समान १/१ विकेट लिए।
सोही दिन भएको दोस्रो खेलमा एनबिएससी लायन्स क्लबले फूलबारी क्रिकेट क्बललाई ५० रनले पराजित गर्यो। एनबिएससी लायन्सले निर्धारित १० ओभरमा १ विकेट गुमाई १५७ रन बनायो। जसमा राहुल रोमाल्डले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए। सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए। उनले ७ छक्का र २ चौका हिर्काए।
फूलबारीका एमडीले १ विकेट लिए। एनबिएससीले दिएको १५८ रनको लक्ष्य पछ्याएको फूलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाई १०७ रन मात्रै बनायो। जसमा राजेश सिंहले १४ बलमा ४१ रन बनाए। दीपकराज जोशीले १८ बलमा २३ रनको पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए।
एनबिएसीका बलर फिरदोस अन्सारी, सन्तोष कार्की र दीपेश कँडेलले समान २÷२ विकेट लिए। प्लेर अफ द म्याच एनबिएससीका सन्तोष कार्की भए। दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फ्लडलाइटको व्यवस्था गरिएको छ।
विराटनगर–६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेताले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एक लाख र चौथो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्।
प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।
प्रकाशित: १५ जेष्ठ २०८१ ०८:५३ मंगलबार





