२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको फराकिलो हार

खराब बलिङसँगै अनुशासित ब्याटिङ गर्न पनि असफल नेपाल बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी- २० क्रिकेटमा फराकिलो हार बेहोर्न बाध्य भएको छ।

नेपाली बलर निकै महंँगा साबित भएको तेस्रो खेलमा नेपाल क्यारेबियन टोलीसँग ७६ रनको फराकिलो हार सामना गर्न बाध्य भएको हो। लयमा रहेका कप्तान रोहितकुमार पौडेलसँगै ओपनर कुशल भुर्तेल र अनुभवी बलर सोमपाल कामीलाई बुधबार आराम दिइएको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोलीमा अनुभवी विनोद भण्डारी र लोकेश बमलाई ओपनिङ जिम्मेवारी दिए पनि उनीहरू सफल हुन सकेनन्। नेपाल लगातार दुई खेल गुमाउँदै पाँच खेलको शृंखलामा २–१ ले पछाडि पर्‍यो। पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो र तेस्रो खेल गुमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका बलर बुधबार पाहुना टोलीको आक्रामक ब्याटिङसामु निरीह भए। त्यससँगै वेस्ट इन्डिज ‘ए’ ले २२८ रनको विशाल लक्ष्य दियो। जबाफमा नेपाली टोली १९.२ ओभरमा १५१ रनमै समेटिन पुग्यो। कुनै पनि ब्याटरले अनुशासित इनिङ खेल्न सकेनन् र नेपालले फराकिलो हार सामना गर्‍यो।

ओपनर लोकेश र तल्लो क्रमका करण केसीको २८ रन जोडे। यो नै नेपालको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। अर्का ओपनर विनोद भण्डारीले १९ रन, कुशल मल्लले २० रन जोड्दा अनिल साहले १४ रन बनाए।

त्यसअघि विशाल योगफल पछ्याएको नेपालको सुरुआत राम्रो हुन सकेन। चौथो ओभरमै नेपालले पहिलो विकेट गुमायो। फाबियन एलेनले ओपनर विनोदलाई हेडन वाल्सबाट क्याच गराए। त्यसअघि विनोदले लोकश बमसँग ३६ रनको साझेदारी गरेका थिए।

स्पिनर गुडाकेस मोतीले ओपनर लोकशसँगै अनिललाई पनि आउट गरे। मोतीले सातौं ओभरमा अनिललाई कप्तान रोस्टन चेजबाट क्याच गराए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ सेख पनि ३ रनमै पभेलियन फर्किए। उनी दशौं र लोकेश ११औं ओभरमा आउट भए र १०.६ ओभरमा नेपाल ९१-४ को अवस्था पुग्यो।

खातामा थप सात रन जोड्दा नेपालले पाँचौं विकेट पनि गुमायो। स्पिनर वाल्सले कुशल मल्लको इनिङ पनि लामो समय टिक्न दिएनन्। विवेक यादव ३ रनमा र कप्तान दीपेन्द्रसिंह ७ रनमा रनआउट हुन पुगे। त्यसअघि गुल्सन झा ६ रनमा आउट भएका थिए 

त्यससँगै १६.३ ओभरमा नेपाल ११९-८ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि अलराउन्डर करण केसीले इनिङ अगाडि बढाउने प्रयास गरे। तर, सफल भएनन् र नेपालले फराकिलो हार बेहोर्‍यो। उनी दशौं विकेटका रूपमा आउट भए। वेस्ट इन्डिजको बलिङमा वाल्सले तीन विकेट लिँदा मोतीले दुई तथा म्याथ्युज फोर्ड, फाबियन र आबेद म्याककोयले समान एक विकेट लिए।  

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरमा मात्र तीन विकेट गुमाउँदै २२७ रनको विशाल योगफल बनायो। यस क्रममा ओपनर जोन्सन चार्ल्सले अविजित ११९ रनको शतकीय इनिङ खेले। ६१ बल खेलेका चाल्र्सले १३ चौका र सात छक्का हिर्काए। अघिल्ला दुई खेलमा गरेर उनले ११ रन मात्र जोडेका थिए।

तर, तेस्रो खेलमा भने उनको आक्रामक शैली रोक्न घरेलु बलर असफल भए। नेपालले चौथो ओभरमै पहिलो सफलता पाएको थियो। यस क्रममा एलिक अथानजे १७ रनमा रनआउट हुन पुगे। तर, चार्ल्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १४५ रनको विशाल साझेदारी गरे। आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रन जोडे।

उनको इनिङमा चार चौका र तीन छक्का रह्यो। किमो पाउल १३ रनमा अविजित रहे। नेपालको बलिङमा करणसँगै सागर ढकालले समान एक विकेट लिए। गुल्सनबाहेक नेपालका सबै बलर महँगा साबित भए। शृंखलाको चौथो खेल बिहीबार हुने छ।

प्रकाशित: २० वैशाख २०८१ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App