१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिटीबाट डी ब्रुएनेको सय गोल

केभिन डी ब्रुएनेको म्यानचेस्टर सिटीमा सय गोल पूरा भएको दिन शनिबार सिटीले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको छ।

यो जितसँगै च्याम्पियन सिटीले प्रिमियर लिगको अंकतालिकमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक बराबरीसमेत गरेको छ। क्रिस्टल प्यालेसको घरेलु मैदानमा सिटी खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो, तर डी ब्रुएनेले उत्कृष्ट गोल गर्दै म्यानचेस्टर सिटीलाई खेलमा फर्काएका हुन्।

दोस्रो हाफको सुरुआतमा नै सिटीले अग्रता लियो। यस पटक रिको लेविसले गोल गरे। डी ब्रुएनेकै पासमा इर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए। बेल्जियन स्टार डी ब्रुएनेले व्यक्तिगत दोस्रो गोल पनि गरे।

यससँगै सिटीले निर्धारित समय सकिन २० मिनेट बाँकी छँदा फराकिलो अग्रता लियो। यो गोलपछि डी ब्रुएनेले सिटीका लागि सय गोलको आँकडा भेट्टाए। पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले गत बुधबार पनि एस्टन भिल्लामाथि ४–१ को जित निकाल्दै यस सिजन पनि उपाधि रक्षाका लागि बलियो दाबेदारी प्रस्तुत गरेको थियो।

च्याम्पियन्स लिगमा सिटीले रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्न दुई दिन मात्र बाँकी छ। सिटी यस पटक क्वार्टरफाइनलमा मड्रिडको चुनौती पार गर्ने योजनामा छ। पछिल्ला खेलमा उत्कृष्ट नतिजा निकाल्दै सिटीले बलियो दाबेदारका रूपमा पनि आफूलाई उभ्याएको छ।

एस्टन भिल्लाविरुद्ध फिल फोडेनले ह्याट्रिक पूरा गरेका थिए। तर, प्यालेससँगको खेलमा भने ग्वार्डिओलाले उनीसँगै म्यानुएल एकान्जी, बर्नार्डो सिल्भा र जेरेमी डोकुलाई बेन्चमा नै सीमित राखे। जोन स्टोन्स र ओस्कार बोबसँगै डी बु्रएने र हालान्डको साथ पाएको सिटी कागजमा कमजोर भने थिएन।

तर, स्टोन्सकै गल्तीकै कारण प्यालेसले खेलको तेस्रो मिनेटमा नै अग्रता लिने अवसर पायो। गत महिना इङ्ल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारीका क्रममा घाइते भएपछि स्टोन्स मैदान फर्किएका हुन्। पुनरागमन खेलमा उनले मिस पास दिए। त्यसको सदुपयोग गर्दै प्यालेसले छिट्टै अग्रता लिएको हो।

एडम वार्टनको पासमा जिन फिलिप माटेटाले गोल गर्दै प्यालेसलाई छिट्टै अग्रता दिलाएका हुन्। तर, त्यसको १० मिनेटमा नै पाहुना टोली डी ब्रुएनेको गोलबाट खेलमा फर्कियो।

४७औं मिनेटमा लेविसको गोलबाट सिटीले अग्रता लियो। यस सिजन ज्याक ग्रिलिसलाई चोटले निकै सताएको छ। तर, उनी लयमा देखिँदा च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि रक्षा गर्ने सिटीको लक्ष्य पनि बलियो बनेको छ। यस सिजन हालान्डले सबै प्रतियोगितामा गरेर ३० गोल पूरा गरेका छन्।

तर, पछिल्ला १७ खेलमा उनी १२ गोल गर्न भने असफल रहे। डी ब्रुएने सन् २०१५ मा म्यानचेस्टर सिटीमा आएका हुन्। उनले त्यसयता सिटीका लागि ३७२ खेलमा एक सय गोल पूरा गरेका हुन्।

ब्रुएनेको गोल प्रेरणामा सिटीले क्रिस्टल प्यालेसमाथि रबाफिलो जित निकाल्दै लिभरपुलसँग अंक बराबरी गर्‍यो। तर, गोलअन्तर (४ गोल) का आधार सिटी पछि परेको छ। -एएफपी

प्रकाशित: २५ चैत्र २०८० ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App