२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ विचारका साथ ८४ मा चुनाव लड्छौँ :प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टीले नयाँ विचारका साथ २०८४ को चुनाव लड्ने बताएका छन् । पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको उत्पादन अभियानअन्तर्गत बाँके, सुर्खेत, दैलेख हुँदै शुक्रबार कालिकोट पुगेका उनले नेपाली जनतामा रहेको राजनीतिप्रतिको निराशा र केही हुँदैन भन्ने मानसिकता बदल्न आफ्नो पार्टीले नयाँ योजनासहित  चुनाव लड्ने  बताएका हुन् ।

२०७९ को चुनावमा केही स्थानीय तहमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिए पनि पार्टीभित्रकै विवादका कारण सफलता हासिल गर्न नसकेको स्विकार्दै आगामी चुनाव देशभक्त, राष्ट्रवादी, युवाको प्रतिनिधित्व गर्दै आफ्नो दलले चुनाव लड्ने उनले बताए ।

 विश्वकर्मा कालिकोटका लोकप्रिय नेता हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा ५१ प्रतिशत मत पाएर निर्वाचित भएका थिए।

पार्टीद्वारा मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विश्वकर्माले नेपालमा कम्युनिस्ट जनमत ६६ प्रतिशत हाराहारी भए पनि सबैलाई समेट्न नसक्ने र आत्म केन्द्रित हुने नेताहरूका कारण जनताले परिवर्तनको महसुस गर्न नसकेको दाबी गरे।

‘फुट र विभाजन कम्युनिस्टहरूको रोग नै छ,’ समाजवादी मोर्चाबारेको सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अब पनि मिल्न नसक्ने हो भने कसैको खैरियत छैन ।’ उनले एमालेसहित कम्युनिस्टहरूको समाजवादी मोर्चा बनाउनुपर्नेमा जोड दिँदै काँग्रेसभित्रका इमानदार देशभक्तलाई पनि समाजवादी मोर्चामा सहकार्य गर्ने गरी योजना बनाउने सुनाए।

काँग्रेस र एमालेले सत्ता साझेदारीका लागि गरेको ७ बुँदे समझदारी स्वाभाविक भएको पनि उनले बताए । ‘संविधानमा नमिलेका कुरा मिलाउने भए ठिक छ, अन्यथा जनताका अधिकार कटौती गर्ने प्रयास भए आफ्नो दलले खबरदारी गर्नेछ,’ उनले भने।हाल अवलम्बन भइरहेको समानुपातिक प्रणाली नेताहरूले दुरुपयोग गरेको बताए।

विप्लव समूहले समाजमा चन्दा आतंक मच्चाएको सञ्चारकर्मीको गुनासोमा उनले जनतामा आश्रित पार्टी भएकाले सहयोग लिए पनि जबरजस्ती कसैलाई नगरेको उनको दाबी थियो। जनताबाट केही नलिन देशभरि बाँझो रहेको जमिनमा सामूहिक खेती गरेर उत्पादनमा जोड दिएको पनि उनले बताए 

प्रकाशित: ११ श्रावण २०८१ २०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App