१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

स्वर्ण विजेता रुचाल सम्मानित

१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय मुवाँथाई संघले एक कार्यक्रम गर्दै रुचालसहित आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो। थाइल्यान्डको बैंककमा सम्पन्न १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका हुन्। उनले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण पदक जितेका थिए।

यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण जितेका थिएनन्। उनीसहित नेपाली खेलाडीले मार्च १२ देखि २० सम्म सम्पन्न च्याम्पियनसिपमा दुई स्वर्ण, दुई रजत र एक कांस्य जितेका थिए।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भए। गुणराजको उपलब्धि मुवाँथाईमा कुनै पनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो।

यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण जितेका थिए। विश्व च्याम्पियनसिपको १९औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी थिइन्। एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानिनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन्।

एमेच्याेरतर्फ पुरुष ५१ केजीमा सुशील शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते। गुणराजले एक लाख, परिकाले ५० हजार तथा सुशील, सञ्जय र गुमानले समान १० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र पाए। 

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे। सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराई पनि समान १० हजार नगद र प्रशंसासहित सम्मानित भए।

प्रकाशित: २४ चैत्र २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App