२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै आज

मच्छिन्द्र र सांग्रिलाका कप्तानद्वय ट्रफीका साथ । तस्बिर : नागरिक

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ। शुक्रबार विराटनगरमा आयोजित प्रि–फाइनल प्रेस मिटमा दुवै टोलीका प्रशिक्षक र कप्तानले जित आफ्नो पक्षमा हुने दाबी गरे का थिए।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने रणनीतिका साथ मैदान उत्रने बताउँदै घरेलु टोली मोरङका प्रशिक्षक रानु रानामगरले भने, ‘अर्को टोली कमजोर छैन, तर हाम्रो टोलीका सदस्य पनि उहाँहरूभन्दा कम नभएको हुँदा जित आफ्नो पक्षमा हुने छ। मैदानभित्र खेलाडीले रणनीतिअनुसार खेल्छन् र मैदानबाहिरका खेलाडी भनेका दर्शक हुन्। दुवैको सम्मिश्रणबाट विपक्षी टोली दबाबमा पर्ने छ।’

‘यो मैदान हाम्रै भएकाले खेल्न सहज हुन्छ। घरेलु टोली भएकाले दर्शकको साथ पाउँदा खेलाडीलाई मैदानभित्र सहज हुन्छ र उनीहरूले जित हात पार्नेछन्’, प्रशिक्षक मगरले दाबी गरे। उनले उपाधि भिडन्तका लागि टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताए।

कप्तान अभिषेक लिम्बूले पनि दर्शकको साथ पाउँदा आफूहरूले जित्ने दाबी गरे। दोस्रो संस्करणको जितको इतिहासलाई पुनः फर्काउने कप्तान लिम्बूले बताए।

मोरङ विभागीय टोली एपिएफ र पाहुना टोली भुटानको आरटिसी एफसीलाई पराजित गर्दै फाइनलमा पुगेको हो। मोरङले क्वार्टरफाइलनमा भुटानलाई ३–२ गोल र सेमिफाइनलमा एपिएफलाई सडनडेथमा ४–३ गोलले हराएको थियो।

यता, मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा पहिलो पटक पुगेको छ। उसले क्वार्टरफाइनलमा भारत कोलकाताको साउथर्न समितिलाई २–१ र सेमिफाइनलमा भारतकै सिक्किमको ड्रागान फुटबल क्लबलाई १–० गोलले पराजित गरेको थियो।

यो सिजनमा तेस्रो पटक गोल्डकप जित्ने दाउ र रणनीतिका साथ मैदानमा टोली उत्रने बताउँदै, मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘यो गोल्डकपको उपाधि हामी नै जित्छौं। किनभने टोलीका सदस्यले पछिल्ला दुई ठूला प्रतियोगिताको उपाधि जितेको हुँदा त्यो आत्मबलले पनि हामी जित्नेमा विश्वस्त छौं। ओली कप र बाग्मती गोल्डकपको उपाधि हामीले जितको हौं। फाइनल पुग्ने विश्वास र सपना पूरा भयो भने उपाधि हात पार्ने सपना शनिबार पूरा हुँदै छ।’

आक्रामक रणनीतिका साथ मैदानमा उत्रिने गरेको बताउँदै कप्तान विशाल श्रेष्ठले भने, ‘पहिलो पटक फाइनल पुगेकाले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा छौं। देशकै प्रतिष्ठित उपाधि उचाल्नका लागि साथीहरूले कडा परिश्रम गरेका छन् र अझ थप परिश्रम गर्नेछन्।’

यस सिजनमा मच्छिन्द्रले ७ वटा गोल्डकपमा सहभागिता जनाएको छ। मकवानपुरको छैटौं बाग्मती अन्तर्राष्ट्रिय गोल्डकप र काठमाडौंमा सम्पन्न केपी ओली कपको उपाधि जितेको छ। आहा रारा गोल्डकपमा जावलाखेलसँग, झापा गोल्डकपमा त्रिभुवन आर्मीसँग र छैटौं सहिद स्मृति मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकपमा एपिएफसीसँग पराजय भोगेको थियो।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताले जनही २१ हजार रूपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्ने ट्रस्टका सचिव तथा प्रचारप्रसारका संयोजक ध्रुव सिग्देलले जानकारी दिए। 

प्रकाशित: २४ चैत्र २०८० ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App