१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइतबारदेखि अन्तरप्रदेश खेलकुद

नेपाली खेलकुदमा पहिलो पटक प्रदेश सरकारको पहलमा राष्ट्रियस्तरको अन्तरप्रदेश खेलकुद सुरु हुँदै छ।

प्रत्येक २/२ वर्षमा आयोजना हुने गरी तय भएको अन्तरप्रदेश खेलकुद आइतबारदेखि चितवनमा सुरु हुन लागेको हो। अन्तरप्रदेश खेलकुदको पहिलो संस्करण बाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशको संयुक्त आयोजनामा हुँदै छ। 

खेलकुदमा संघीयता कार्यान्वयन भएको लामो समय बिते पनि प्रदेशमा खेलकुद विकास र प्रवर्धनको जिम्मेवारी पाएको प्रदेश खेलकुद परिषद्ले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। यद्यपि, प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिताको भने दुई संस्करण सफलतापूवर्क आयोजना गरिसकेको छ।

पहिलो संस्करणको अन्तरप्रदेश खेलकुदको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुँदै छ। प्रदेश खेलकुद विकास परिषद्, बाग्मतीका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। 

पहिलो पटक हुन लागेको अन्तरप्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ। पहिलो संस्करणको प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने भएको छ।

पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुनेछ। पुरुष फुटबल भने हेटौंडास्थित गौरीटार रंगशालामा हुने भएको छ। प्रतियोगितामा समान एक सय ३६ स्वर्ण र रजतका साथै एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्, बाग्मतीले जनाएको छ। 

सात प्रदेशका कुल एक हजार पाँच सय ४७ खेलाडीले पहिलो संस्करणको अन्तरप्रदेश खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्। स्वर्ण, रजत र कांस्य पदक हात पार्ने खेलाडीले क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाउनेछन्।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ। प्रतियोगितामा च्याम्पियनले चाँदीको रनिङ सिल्ड पाउनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशालामा हुनेछ।

 समापनकै अवसरमा दोस्रो संस्करणको आयोजकलाई झन्डा हस्तान्तरण हुने कार्यक्रम छ। समापन हुनुभन्दा अगाडि बैठकबाट दोस्रो संस्करणको आयोजक तय हुनेछ।

प्रकाशित: २३ चैत्र २०८० १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App