२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र रमिशाबीच उपाधि भिडन्त आज

सुष्मा तामाङ (रातो) अस्मिता दुवाललाई मुक्का प्रहार गर्दै  । तस्बिर सौजन्य : विशाल पन्थ

लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बाग्मती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५० केजीमा आज भिड्दै छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको आफ्नो तौलसमूहको सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै यी दुईले उपाधि भिडन्त तय गरेका थिए।

सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल र रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई हराएकी थिइन्। गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित जारी प्रतियोगिताको फाइनल खेल आज हुँदै छ। महिला ५४ केजीमा बाग्मतीकी रक्षा जिसी र नेपाल पुलिसकी अञ्जली तेली स्वर्ण पदकका लागि भिड्न लागेका हुन्।

सेमिफाइनलमा रक्षाले गण्डकी प्रदेशकी सोनिया बडुवाल र अञ्जलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई हराएका थिए।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङ तथा कोसी प्रदेशकी नारिका राईले लुम्बिनी प्रदेशकी ललिता बस्नेतलाई हराउँदै स्वर्ण पदकको भिडन्त पक्का गरे। महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोसीकी जोनु लिम्बू तथा एपिएफकी संगिता सुनारले बाग्मतीकी नतिशा रानामगरलाई हराउँदै फाइनलमा स्थान बनाए।

महिलाकै ६६ केजीमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी तथा एपिएफकी विनीता थापामगरले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

महिला ७५ केजीमा एपिएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमाया थारू तथा आर्मीकी तृषा जबेगुले कर्णालीकी शिलु महर्जनमाथि जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका थिए। पुरुष ५१ केजीमा पुलिसका चन्द्रबहादुर थापाले बाग्मतीका लालप्रसाद उप्रेती र मधेस प्रदेशका रविन थापाले आर्मीका विमल घर्तीमगरलाई हराएका थिए।

पुरुष ५७ केजीमा कर्णालीका सुलभ मालीले प्रहरीका निकेश देशार र आर्मीका प्रेम चौधरीले बाग्मतीका नीराजन मोक्तान तथा ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोकामगरले लुम्बिनीका अनिलकुमार पुनलाई हराउँदै स्वर्ण पदक भिडन्त पक्का गरे।

पुरुषकै ७१ केजीमा एपिएफका विक्रम चौधरीले बाग्मतीका अश्विनधिरन श्रेष्ठ र आर्मीका दानबहादुर दर्लामी मगरले सुदूरपश्चिमका भरत चन्दलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए।

पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले आर्मीका दीपेश लामा र कर्णालीका मनोज तामाङले बाग्मतीका पासाङ शेर्पा तथा ९२ केजीमुनि एपिएफका रविन नेपालले गण्डकीका किरण विक र आर्मीका महेन्द्र केसीले बाग्मतीका प्रदीप तामाङलाई हराउँदै फाइनलमा पुगेका थिए।

प्रकाशित: १७ चैत्र २०८० ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App