१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज

कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश आज भिड्ँदै छन्।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई हरायो भने कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै उपाधिका लागि दाबी प्रस्तुत गरेका हुन्। आर्मी लगातार पाँचौं खेल जित्दै फाइनलमा पुगेको हो।

यस सिजनमा भएका प्रतियोगिताहरुको फाइनल खेलमा आर्मीले केपी ओली कपमा मधेस प्रदेशसँग पराजय भोग्यो भने पिएम कपमा पुलिससँग पराजय भोगेको थियो। पाँच खेलमध्ये तीन मा जित हात पारेको कर्णाली र आर्मीबीच उपाधि जितका लागि खेल हुने छ।

आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। टस हार्दै पहिलो ब्याटिङको मौका पाएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रन बनाउन सफल भयो।

नारायण जोशीले २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन, किरण ठगुनाले ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ४३ रन बनाए। आर्मीका लागि बसिर अहमदले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट, नितेश पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए।

१९ ओभर १ बलमा ५ विकेट गुमाउँदै आर्मीले पाएको १ सय  ६४ रनको लक्ष्य पार गर्दै विजयी भयो। प्लेयर अफ द म्याच बसिर अहमदले अविजित हुँदै २८ बलमा २ छक्का र ५ चौका प्रहार गरी ५० रन, त्रितराज दासले ३२ बलमा ७ चौका प्रहार गरी ३८  रन र सन्तोष कार्कीले ३१ रनको योगदान गरे। सुदूरपश्चिमका लागि दीपक बोहराले २ विकेट, हेमन्त धामी र नरेन साउदले समान १–१ विकेट लिए।

अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ थालेको लुम्बिनीले १८ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ५१ रन बनायो। आकाश त्रिपाठीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरी ६५ रन, मिर्नल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन, देव खनालले १२ रन र प्रज्ज्वल थापाले ११ रनको योगदान गरे। कर्णालीका लागि प्लेयर अफ म्याच दीपेन्द्र रावतले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट, प्रकाश जैसीले ३ विकेट र दिवान पुनले २ विकेट लिए।

कर्णालीले १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो। अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रन, दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रन बनाए।  

११ ओभर ५ बलमा ७८ रनमा पाँचौं विकेट गुमाइसकेको अवस्थामा घर्ती र अधिकारीले छैटौं विकेटका लागि ४२ बलमा अविजित रहँदै ७४ रनको उत्कृष्ट साझेदारी प्रस्तुत गरे। रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रन बनाए। लुम्बिनीका लागि वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिए।

प्रकाशित: ३ चैत्र २०८० ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App