१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ।

फिफा विश्वकप छनोट दोस्रो चरणअन्तर्गत बहराइनसँगको खेलका लागि एन्फाले खेलाडी र प्रशिक्षण टोलीबाहेक अतिरिक्त १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको थियो।

बहराइनसँगको खेलअगाडि नेपालले मलेसियासँग आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्दै छ। जम्बो टोली मलेसिया पठाएपछि एन्फाले चौतर्फी आलोचना खेप्दै आएको छ। खेलकुद मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै एन्फालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र काटेको हो। राष्ट्रिय खेलकुद ऐनविपरीत अनावश्यक व्यक्ति भ्रमणमा पठाएको भन्दै मन्त्रालयले कारबाही गर्न आदेश दिएको छ।

साथै खेलकुद मन्त्रालयले राखेपको स्वीकृतिपश्चात् मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता, गोष्ठी, तालिम, सेमिनार वा सम्मेलनमा भाग लिन जानुअगाडि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ।

मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि पनि एन्फाले अनावश्यक रूपमा दुई जना विनोद डंगोल र मनीष तिम्सिनालाई गोलकिपर प्रशिक्षक तोकेको थियो। नेपाली टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस हुन्।

त्यसबाहेक टोलीका लागि आवश्यक पर्ने एक सहायक प्रशिक्षक, टिम व्यवस्थापक, फिजियो र किट व्यवस्थापक हुन्। सो जिम्मेवारीमा प्रवेश कटुवाल (प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो) र ज्ञानबहादुर राई (किट व्यवस्थापक) छन्। तर, एन्फाले अनावश्यक रूपमा दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष ), महेन्द्र क्षेत्री (एन्फा सदस्य), इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरू भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई अनावश्यक रूपमा विदेश पठाएको छ।

मन्त्रालयले जम्बो टोली पठाएकामा कारबाही गर्न निर्देशन दिएको हो। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ।

राखेपको च.नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएकाले एन्फालाई कारबाही गरी सोको जानकारी गराउन राखेपलाई निर्देशन दिइएको छ,’ खेलकुद मन्त्रालयले भनेको छ। 

प्रकाशित: १ चैत्र २०८० ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App