८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

विभागीय टोली पुलिस र आर्मी विजयी

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत बुधबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। समूह ‘बि’मा दुवै टोली रहेका छन्। जितसँगै पुलिसले सेमिफाइनलको यात्रा जीवितै राखेको छ। सेमिफाइनल पुग्नका लागि बिहीबार बाग्मतीसँगको खेलमा पुलिसले राम्रो रनरेटका आधारमा जित निकाल्नु पर्ने हुन्छ।

३ खलेमध्ये २ मा जित र १ मा पराजय भोग्दै ४ अङ्कका साथ पुलिस तालिकाको तेस्रो स्थानमा चढेको छ। ४ खेलमध्ये १ मा पराजय र ३ मा जित निकाल्दै ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा लुम्बिनी छ। सुदूरपश्चिम ४ खेलमध्ये ३ मा जित र १ मा पराजित हुँदै ६ अङ्कका साथ दोस्रो स्थानमा छ।

पुलिसले टस जितेर फिल्डिङ रोज्दै लुम्बिनीलाई पहिलो ब्याटिङ गर्ने अवसर दिएको थियो। पहिले ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन बनाउन सफल भयो। मिर्नल गुरुङले ३८ बलमा ६ चौकाको सहयोगमा ५० रन, कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गर्दै ४५ रन र आकाश त्रिपाठीले २६ बलमा १ छक्का ४ चौका प्रहार गरी ३४ रनको योगदान गरे। पुलिसका मञ्जित श्रेष्ठ र अभिषेक कार्कीले समान २–२ विकेट लिए।

पुलिसले पाएको लक्ष्य पछ्याउने क्रममा १६ ओभर ५ बल खेल्दै २ विकेटको क्षतिमा विजयी भयो। प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरी अविजित रहँदै ८० रन बनाए। अमित श्रेष्ठले ३८ बलमा ७ चौका प्रहार गर्दै ४९ रनको योगदान गरे। लुम्बिनीका देव खनालले १ विकेट लिए।

दुई विभागीय टोलीबिच भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ)लाई ४ विकेट पराजित गरेको छ। दुवै टोली समूह ‘ए’मा रहेका छन्। ४ खेल खेल्दै आर्मीले सबै खेलमा जित निकालेर ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमध्ये १ मा जित र २ मा पराजय भोगको एपिएफ २ अङ्कका साथ तालिकाको अन्तिम रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर आर्मीले एपिएफलाई पहिलो ब्याटिङको मौका दिएको थियो। पहिले ब्याटिङ थाल्दै एपिएफले १९ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ३९ रन बनायो। सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३३ रन, भुवन कार्कीले १५ बलमा १ छक्का ३ चौकाका साथ २५ रन, पुरन विकले २३ रन, अरुण ऐरीले १७ र हिमांशु दत्तले ११ रन बनाए। आर्मीका लागि सुमित श्रेष्ठले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट र त्रितराज दासले ३ ओभर २ बलमा २१ रन खर्चेर २ विकेट लिए।

आर्मीले पाएको १ सय ४० रनको लक्ष्य १८ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा पार गरेको थियो । प्लेयर अफ द म्याच बासिर अहमदले अविजित रहँदै ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४६ रन, सन्दीप रजालीले १५ बलमा ४ चौका प्रहार गर्दै २६ रन र रमेश भट्टले २२ रनको योगदान गरे। एपिएफका भुवन कार्की र यज्ञमान कुमालले समान २–२ विकेट लिए।

बिहीबारको पहिलो खेल मधेस प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबिच हुनेछ। 

प्रकाशित: ३० फाल्गुन २०८० १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App