१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पेरिस ओलम्पिक: छनोट खेल्न नेपाली तेक्वान्दो टोली चीनतर्फ

एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।

फ्रान्सको पेरिसमा तय पारालिम्पिक गेम्सका लागि चीनको ताइयाङमा आगामी मार्च १७ देखि एसियाली तेक्वान्दो छनोट प्रतियोगिता हुँदै छ। सोही छनोट यात्राका लागि पलेशासहित भरतसिंह महता र अमिर ब्लोनले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्न लागेका हुन्।

यसै वर्ष चीनको हानझाउमा सम्पन्न चौथो पारा एसियाली खेलकुदमा पलेशाले कांस्य पदक जितेकी थिइन्। त्यो पदक नेपालको पारा खेलकुदको लागि अहिलेसम्मकै ठूलो हो। पलेशा जापानमा सम्पन्न पारालिम्पिकमा पनि कांस्य पदक भिडन्तमा चुकेकी थिइन्। यस पटक भने छनोट चरण पार गरेर पलेशा पेरिस पारालिम्पिक खेल्ने लक्ष्यमा छिन्।

कविराज नेगी लामाको प्रशिक्षणमा नेपाली पारा तेक्वान्दो टोलीले नियमित प्रशिक्षण गर्दै आइरहेको छ। पलेशाले पारालिम्पिक छनोटअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौलसमूहमा चुनौती प्रस्तुत गर्दै छिन्। के–४४ मै पुरुष ५८ केजीमुनि भरतसिंह र ६३ केजीमुनि अमिरले नेपालको प्रतिनिधित्व गर्नेछन्।

भरतसिंह र अमिरको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो प्रतियोगिता मार्च १७ सम्म हुँदै छ। त्यसका लागि नेपाली टोली मार्च १४ मा चीन प्रस्थान गर्ने कार्यक्रम छ। हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ।

वीरसहित चार खेलाडी छनोट खेल्ने

वीर महरासहित नेपालका चार तेक्वान्दो खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगिता खेल्ने भएका छन्।

उक्त छनोट प्रतियोगिता आगामी मार्च १५ देखि १७ सम्म चीनको ताइयाङमा हुँदै छ। नेपाली टोलीकै सबैभन्दा अनुभवी खेलाडी वीरले पेरिस ओलम्पिक छनोटअन्तर्गत ६८ केजी तौलसमूहमा चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ५८ केजीमुनि राहुल कुमाल, महिला ४९ केजीमुनि अञ्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले छनोट हुने लक्ष्यसहित चीनमा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रत्येक तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने प्रावधान छ। नेपाली टोलीको प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन्। छनोट मार्च १५ र १६ मा हुनेछ।

त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले चीन जाने नेपालका दुई तेक्वान्दो टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार बिदाइ गरेका थिए।

सो अवसरमा सदस्यसचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहो¥याउने अवसर भएको उल्लेख गर्दै खेलाडीको तयारीबारे चासो राखे। घिसिङले छनोट प्रतियोगिता यो टोलीका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर रहेको धारणा राखे।

‘नेपाली ओलम्पिक इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेका छैनन्। संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गर्नुभएको छ। उहाँहरूपछि तपाईंहरूलाई इतिहास रच्ने मौका छ,’ सदस्यसचिव घिसिङले भने, ‘निर्भीक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस्। खेलका दौरान खेलाडी मात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ।’

प्रकाशित: २८ फाल्गुन २०८० ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App