१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जुम्लाले जित्यो प्रदेशस्तरीय फुटबल उपाधि

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ। जुम्ला चन्दननाथ नगरपालिका– ५ मा अवस्थित  चन्दननाथ रंगशालामा शुक्रबार भएको फाइनलमा हुम्लालाई शून्यका विरुद्ध ४ गोल गर्दै उपाधि जुम्लाले जितेको हो।

जुम्लाको जितका लागि जर्सी नम्बर ७ का रुविन भण्डारीले ह्याट्रिक गरे। दोस्रो हाफमा जुम्लाकै महेन्द्र शाहीले पेनाल्टी सुटआउटमा एक गोल थपेपछि जुम्लाको चार गोल भएको हो।

हुम्लाले पटकपटक गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन। जुम्लाबाट पराजित हुम्ला उपविजेता बनेको हो। उपाधि जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप र मेडल प्रमाणपत्र पाएको छ।

विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेशसभा सदस्य पूर्वसामाजिक विकासमन्त्री टेकराज पछाई, प्रदेशसभा सदस्य देवन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतले प्रमाणपत्र, मेडल र ट्रफी हस्तान्तरण गरेका थिए।

जुम्लाले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुदमा धेरै खेलाडी छनौट हुने अपेक्षा गरेको छ। ह्याट्रिककर्ता भण्डारीले घरेलु मैदानमा उपाधि चुम्दा खुसी लागेको प्रतिक्रिया दिए। उनले राष्ट्रिय खेलकुदमा पनि जुम्लाबाट छनोट भएका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे।

प्रदेशस्तरीय फुटबलमा कर्णालीका १० मध्ये ६ जिल्लाबाट टिम दर्ता भएको थियो। जुम्ला, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगितामा भाग लिएको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए।

प्रतियोगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए। प्रतियोगिता गत मंगलबारदेखि सुरु भएको थियो।

प्रकाशित: १८ फाल्गुन २०८० १९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App