२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन : शीर्ष ८ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा

१३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा भएको छ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा शीर्ष आठ वरीयताबीचको प्रतिस्पर्धामा सेमिफाइनल समीकरण पूरा भएको हो। पुरुष एकलमा समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल विजेता र नेपाल पुलिस क्लबका सुनील जोशी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन्।

लिगको अन्तिम खेलमा पुलिसका जीवन आचार्यमाथि २१–१८, २१–१३ को जित निकाल्दै प्रिन्स विजेता बनेका हुन्। चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे।

पुलिसका सुनीलले भने एपिएफका विजित थापामगरलाई २१–१०, १७–२१, २१–१८ ले हराए। यससँगै उनी लिगमा दुई जितका साथ समूह उपविजेता बनेका हुन्। समूह ‘बी’ को विजेता भने ललितपुरका प्रफुल महर्जन भए। एपिएफका देवराज राना उपविजेता बन्दै सेमिफाइलनमा पुगे।

प्रफुलले बुधबारको खेलमा पुलिसका विष्णु कटुवाललाई २१–१५, २१–१७ ले पराजित गरे। उनी पनि लिगमा तीनै खेल जित्दै समूहविजेता बनेका हुन्। समूह उपविजेता देवराज रानाले अन्तिम खेलमा पुलिसका दीपक बोहरालाई २१–१२, २१–१५ ले पराजित गरे। रानाले लिगका दुई खेलमा जित हात पारे।

यही विधाको महिलामा समूह ‘ए’ बाट ललितपुरकी रसिला महर्जन विजेता बनिन्। आर्मीकी अनुमाया राई उपविजेतामा खुम्चिँदै सेमिफाइनलमा पुगिन्। समूह ‘बी’ बाट भोजपुरकी नङ्सल तामाङ समूहविजेता र पुलिसकी नीता लम्साल समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन्।

महिला एकलकै समूह ‘ए’ को अन्तिम लिग खेलमा ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–१६, २१–१२ ले हराउँदै समूह विजेताको रूपमा सेमिफाइनमा स्थान बनाएकी हुन्।

लिग प्रतियोगितामा पराजित भए पनि समूह उपविजेताको रूपमा अनुले पनि सेमिफाइनलमा स्थान पक्का गरिन्। यसै समूहको अर्को खेलमा मोरङकी सीमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१–८, २१–९ ले पराजित गरिन्।

समूह ‘बी’ को खेलमा भोजपुरकी नङ्सलले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१–१०, २१–१३ ले हराउँदै समूहविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाइन्। नङ्सलले आफ्नो समूहको तीन खेलमा जित हात पारेकी थिइन्।

यसै समूहको अर्को खेलमा पुलिसकी नीता लम्सालले एपिएफकी शोभा गौचनमाथि २१–११, २१–११ को समान अन्तरले जित निकालिन्। नीताले लिगमा दुई जितका साथ उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाइन्।

प्रकाशित: १७ फाल्गुन २०८० ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App